सांसद अरुणकुमार चौधरी जेल चलान
कैलाली, २० माघ । कैलाली–२ का सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् ।
बिहीबार बाँकेमा पक्राउ परेका चौधरीलाई प्रहरीले १३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका थिए ।
शुक्रबार बिहानै जिल्ला अदालत कैलालीमा पेश गरि अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागार चलान भएका छन् ।
मुलुकी फौजदारी कार्यविधी संहिता ऐन, २०७४ को दफा १५५ मा ‘एक वर्षभन्दा कम कैद बापत रकम तिर्न सकिने’ व्यवस्था छ ।
तर चौधरीले त्यसका लागि कुनै निवेदन नदिएकाले कैदी पूर्जी दिएर कारागार पठाइएको अदालतका निमित्त श्रेस्तेदार राजेन्द्र जोशीले जानकारी दिए ।
उनले भने, ‘१५५ को सुविधा लागि उहाँले कारागारबाटै निवेदन दिन सक्नुहुन्छ, जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन पनि गर्न सक्नुहुन्छ ।’
२०६६ सालमा ट्याक्टरमा आगजनी गरेको मुद्दामा उनीसहित ३ जनालाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।