काठमाडौँको पुरानो बानेश्वरमा ७ वर्षीय छोरीको हत्यापछि बाबुले गरे आत्महत्या

काठमाडौं, २२ माघ । काठमाडौँको पुरानो बानेश्वरमा बाबु-छोरी मृत भेटिएका छन्। काठमाडौँ महानगरपालिका-१० पुरानो बानेश्वरमा शनिबार साँझ भाडाको फ्ल्याटमा बस्दै आएका बाबु-छोरी मृत भेटिएका हुन्।

रामेछाप घर भएका ३५ वर्षीय किशोर भण्डारी बाथरूमभित्र झुन्डिएको र ७ वर्षीया छोरीकाे घाँटी रेटिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसरका एसएसपी दानबहादुर कार्कीले बताएका छन्।

प्रहरीका अनुसार छोरी शारीरिक रूपमा अशक्त रहेको बताइएकाे छ । ढोकाभित्रबाटै बन्द भएका कारण प्रहरीले प्रारम्भिक रूपमा किशोरले छोरीको हत्यापछि आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ।

अनुसन्धानरत् एक प्रहरी अधिकारीका अनुसार किशोरले बिहान मात्र ६ महिनाको छोरा र श्रीमतीलाई भक्तपुरस्थित माइत पठाएको खुलेको छ । उनका अनुसार साँझ कोठा फर्किएकी श्रीमतीले भित्रबाटै ढोका बन्द रहेको चाल पाएपछि प्रहरीलाई खबर गरेकी थिइन्।

किशोर फार्मेसी सञ्चालक हुन्। केही समयदेखि उनमा मानसिक समस्या रहेको पनि पाइएको छ।