‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम शुभारम्भ

ललितपुर, २४ माघ । नेपाल सरकार, संयुक्त राष्ट्र संघ र युरोपेली संघको संयुक्त साझेदारीमा नेपालमा लैङ्गिक समानता , महिला र युवतीको सशक्तिकरणलाई अगाडि बढाउन कार्यक्रम शुभारम्भ गरिएको छ ।

‘सशक्त महिला, समृद्ध नेपाल’ नाम दिइएको चारवर्षे संयुक्त राष्ट्रिय कार्यक्रम आज ललितपुरको पाटनमा आयोजित विशेष समारोहमा शुभारम्भ गरिएको हो ।

उक्त कार्यक्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, युरोपियन युनियनको अन्तर्राष्ट्रिय साझेदारीका निर्देशक पेटेरिस उस्टुब्स र युनिसेफ नेपालका प्रतिनिधि एल्के विस्चले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो ।

संघ, प्रदेश र स्थानीय सरकारसँगको साझेदारीमा सञ्चालित यस कार्यक्रमले नेपालमा लैङ्गिक समानता तथा महिला र युवतीको सशक्तिकरणलाई अगाडि बढाउने र समृद्ध र सुखी नेपालको राष्ट्रिय परिकल्पनालाई साकार पार्न काम गर्ने बताइएको छ ।

कार्यक्रम कर्णाली, मधेस र सुदूरपश्चिम प्रदेशमा कार्यान्वयन गरिनेछ । कार्यान्वयनका विविध विषयमा संयुक्त राष्ट्रसङ्घका चार वटा एजेन्सी अन्तर्राष्ट्रिय श्रम सङ्गठन, राष्ट्रसङ्घीय जनसङ्ख्या कोष, राष्ट्रसङ्घीय बाल कोष र यूएन वुमनको सहयोग रहनेछ ।