कञ्चनपुरमा पछिल्लो समय चैते धान लगाउने घट्दै

कञ्चनपुर, २५ माघ । कञ्चनपुरमा पछिल्लो समय चैते धानको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनका अनुसार जिल्लामा ५० हेक्टरमा लगाउने लक्ष्य रहे पनि चैते धान लगाउने किसानको सङ्ख्या घट्दै गएको हाे ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत सञ्जु उपाध्याय रिमालले अन्य धानभन्दा चैते धान बढी फल्ने भए पनि किसान यसतर्फ आकर्षित नभएको बताउनुभयो ।

कैलाली र कञ्चनपुर सुदूरपश्चिम प्रदेशको अन्न भण्डारका रुपमा रहे पनि पछिल्ला वर्षमा दुवै जिल्लामा चैते धान खेतीतर्फ किसानको आकर्षण घट्दै गएको पाइएको छ । “छाडा चौपाया र सिचाँइ अभावका कारण पनि खेती गर्नेको सङ्ख्या घटेको हो ।”

चैते धानलाई पानी बढी चाहिन्छ । तर सिँचाइ असुविधाका कारण किसान यसतर्फ आकर्षित हुन नसेकेका रिमालले बताउनुभयो । “चैते धान लगाउँदा तीन बालीसम्म लगाउन मिल्छ, अन्य बालीभन्दा बढी फल्छ”, उहाँले भन्नुभयो, “चैते धानलाई पानी बढी चाहिन्छ, उत्पादकत्व पनि बढी छ ।” दुई वर्षयता बर्खे धानबाली भित्र्याउन नपाउँदै बाढीले सखाप पार्न थालेपछि समस्यामा परेका बाढी प्रभावित क्षेत्रका किसानका लागि चैते धान खेती गर्न आवश्यक छ ।

कञ्चनपुरमा चैते धान उत्पादन कार्यक्रम लागूअनुसार ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने गरिएको छ । बढी पानी जम्ने, नहर क्षेत्र, तथा डुबान हुने क्षेत्रमा चैते धान उत्पादन बढी हुन्छ । बर्खे बाली जोगाउन समस्या हुने भएकाले चैते धान खेती गरिन्छ ।

किसान भने सिँचाइ असुविधा मात्र नभई परम्परागत खेतीका कारण चैते धान लगाउन नसकिएको बताउँछन् । बेदकोट नगरपालिका–७ का खुसी राना चैते धान लगाउने समयमा गहुँ खेती हुने भएकाले लगाउन नचाहेको बताउनुहुन्छ ।

सरकारले चैते धान खेती विस्तारका लागि थुप्रै लगानी गरे पनि यसको फाइदाबारे जानकारी नहुँदा यसप्रति आकर्षण नबढेको हिरुलाल डगौराले बताउनुभयो ।