नेपाललाई थप मानवीय सहायता उपलब्ध गराउँछु : आइएफआरसी महासचिव चापागाईं

काठमाडौं, २५ माघ । रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) का महासचिव जगन्नाथ चापागाईंले मानवीय सेवाका क्षेत्रमा नेपाललाई थप सहायता उपलब्ध गराउने जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभयो, “म आइएफआरसीको एक सय ९२ देशको साझा महासचिव एवं कार्यकारी व्यवस्थापक हुँ, नेपाल सरकारले थप सहयोग चाहेमा नेपालका लागि थप मानवीय सहयोग उपलब्ध गराउन म तयार छु ।”

चारदिने भ्रमण पूरा गरी आज आइएफआरसीको मुख्यालय स्विट्जरल्यान्डको जेनेभामा प्रस्थान गर्नुपूर्व महासचिव चापागाईंले सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्न नेपाल सरकारको सहयोगीका रुपमा नेपाल रेडक्रस सोसाइटीले गरिरहेको मानवीय सेवाको प्रशंसा गर्नुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्टकक्षमा उहाँलाई आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले विमानस्थलमा बिदाइ गर्नुभएको थियो ।

महासचिव चापागाईंले भन्नुभयो, “रेडक्रस मानवीय सहयोगका लागि सर्वोच्च पवित्र निकाय हो, यसलाई अझ सुदृढ बनाउन सबैले हातेमाले गर्दै अगाडि बढौँ ।”

“विपद् तथा स्वास्थ्यसँग सम्बन्धित आपत्कालीन परिस्थिति पूर्व, परिस्थितिको अवधि तथा परिस्थिति पछाडि सङ्कटापन्न नागरिकका आवश्यकता पूर्ति गर्ने र उनीहरूको जीवनस्तरमा सुधार ल्याउने कार्य जारी छ”, उहाँले भन्नुभयो ।

भ्रमणका क्रममा महासचिव चापागाईंले सो संस्थाको नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल र नेपाल रेडक्रसले गरिरहेका मानवीय सेवाका गतिविधिबारे जानकारी लिएको थियो ।

उहाँले आइएफआरसीद्वारा नेपाल रेडक्रस सोसाइटीलाई ३० नयाँ एम्बुलेन्स र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण गर्नुभएको थियो । ‘ख’ वर्गका सो एम्बुलेन्सले बिरामी तथा घाइतेहरुलाई स्वास्थ्य सस्थासम्म पु¥याइ जीवन रक्षा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *