अपराध

हेल्मेट भित्र लुकाएर ल्याएकाे १८ लाख नेपाली रुपैयाँसहित दुई जना पक्राउ

पर्सा, २६ माघ । हेल्मेट भित्र लुकाएर ल्याएकाे १८ लाख नेपाली रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ ।

पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बीरगंज रक्सौला सडकखण्डबाट सशस्त्र प्रहरीले हेल्मेटभित्र लुकाएर ल्याएकाे नगद रू १८ लाखसहित दुई जनालाई नियन्त्रणमा लिएको हाे ।

भारत घर भएका २६ वर्षिय राकेश कुमार र २७ वर्षिय प्रसंजित कुमारलाई सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका प्रहरी उपरीक्षक सुमन थपलियाकाे कमाण्डले उक्त रुपैयाँसहित नियन्त्रणमा लिएको छ ।

भारतीय नम्बर प्लेटको दुई वटा मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका राकेश कुमारको हेल्मेटभित्र ९ लाख र प्रसंजित कुमारको हेल्मेटभित्र ९ लाख नेपाली रुपैयाँ तथा प्रतिबन्धित ५ सय दरको ४ थान भारतीय रुपैयाँ समेत फेला परेका प्रहरीले जनाएकाे छ ।

साथै फेला पारिएको नेपाली रुपैयाँको श्रोत खुलाउन नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिईएको हो । पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँ तथा मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यायल पर्सामा पठाइएको छ ।