गैंडाको खाग तस्करी गरेको आरोपमा १५ जना पक्राउ

काठमाडौं, २६ माघ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गैंडाको खाग तस्करी गरेको आरोपमा १५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले चितवनमा गैंडाको शिकार गर्ने मुख्य शिकारीलाई पनि पक्राउ गरिएको दाबी गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का अनुसार गैंडा शिकारी सोम बहादुर चेपाङ उर्फ राजु पक्राउ परेका छन् ।

चितवनको कालिका नगरपालिका वडा नम्बर–९ शेरबास बस्ने ३९ वर्षका सोम बहादुरलाई माघ २५ गते पक्राउ गरिएको ब्यूरोका प्रवक्ता (एसपी) सञ्जय सिंह थापाले बताए ।

मंसिर १८ मा चितवनको खगेडी खोलामा गैंडा मृत भेटिएको थियो । चतुरमुखी सामुदायिक बन उपभोक्ता समूह र भरतपुर महानगरपालिका–११ स्थित नव जागृति सामुदायिक बन उपभोक्ता समितिको सिमानामा भेटिएको सो गैंडा मारेर राजुको समूहले खाग काटेर लगेको प्रहरीको अनुसन्धानकाे निष्कर्ष छ । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार सोमबहादुरले सो गैंडालाई गोली हानेर शिकार गरेका हुन् ।

माघ २५ मा चितवनबाट गैंडा शिकारी सोमबहादुर चेपाङ उर्फ राजु सहित पाँच जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी सञ्जय सिंह थापाले जानकारी दिए ।

राजुसँगै पक्राउ पर्नेमा इच्छाकामना गाउँपालिका घर भएकी ३० वर्षीया तुलसी चेपाङ, ३९ वर्षीय बीरमान वाइबा, कालिका नगरपालिका घर भएका ३० वर्षीय राधाकृष्ण चेपाङ, भरतपुर महानगरपालिका–८ गौरिगञ्ज घर भएका ५२ वर्षीय आइत बहादुर तामाङ छन् । ‘रुट टु रुट’ अप्रेशन संचालन गरेर ब्युरोले प्रहरी निरिक्षक हिरेन्द्र रोकाया नेतृत्वको टोलीलाई चितवन पठाएको थियो ।

चितवनको खगेडी खोलाबाट तस्करी गरेको गैंडाको खाग बेच्न दुईजनाले काठमाडौंमा ‘डिल’ गरिरहेका थिए । काठमाडौं महानगरपालिका–७ स्थित सरस्वती नगरमा खाग बेच्न खोज्दा दुईजना पक्राउ परे ।

उनीहरु झापाको भद्रपुर नगरपालिका–१० घर भएका ४५ वर्षीय ईन्द्रमणी आचार्य र बाँकेको कोहलपुर घर भएकी ४१ वर्षीया जमुना कुमारी शर्मा हुन् । जमुना र इन्द्रमणीलाई गैंडाको खाग सहित पुस १९ गते पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

उनीहरुले सो खाग २० लाखमा बेच्न ‘डिल’ गरेका थिए । उनीहरुको बयानको आधारमा शिकारी सहित थप १३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पाल्पाको भुवनपोखरी घर भएका ६२ वर्षीय बाबुलाल भट्टराई, कैलाली मसुरियाका ६१ वर्षीय गजाधर सापकोटा उर्फ गणेश, कैलालीको घोडाघोडी नगरपालिका घर भएका ३६ वर्षीय प्रताप चौधरी छन् । माघ २० मा ब्यूरोको टोलीले भोजपुर घर भएर चाबहिल बस्ने ४५ वर्षीय डम्बर कुमार आले, गोरखा पालुङटार बस्ने दान बहादुर राना र स्याङ्जा पुतलीबजारका ४६ वर्षीय निर्मल शाहीलाई पक्राउ गरेको थियो ।

माघ २२ मा स्याङ्जाको वालिङ नगरपालिका–८ घर भएकी ३८ वर्षीया हरिमाया राना पक्राउ परिन् । माघ २४ मा चितवनको शक्तिखोरबाट ४० वर्षीया सम्झना चेपाङ भन्ने कमला तामाङ पक्राउ परिन् । उनलाई चितवनको भरतपुर नगरपालिका–८ स्थित गौरिगञ्जबाट पक्राउ गरिएको एसपी थापाले जानकारी दिए ।

२०७९ माघ ६ मा पनि नवलपरासीको मध्यबिन्दु नगरपालिका–२ स्थित नारायणी नदीको उत्तरी किनारमा दुईवटा गैंडा मृत भेटिएका थिए । ती गैंडालाई विद्युतीय धरापमा पारेर मारेको पोष्टमार्टम रिपोर्टबाट खुलेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीले बताए ।

मृत दुइटा गैंडा मध्ये शिकारीले एउटाको खाग काटेर लगेका थिए। त्यसबारे अनुसन्धान भइरहेको तिवारीले बताए । उनका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा बाघ, हात्ती र गैंडा शिकार गरेर अंग बेचेको आरोपमा ९० जना भन्दा धेरै फरार छन् ।

खाग बेच्नेदेखि गैंडा मार्नेसम्मका आरोपीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ को दफा २६ (१) अनुसार ५ वर्षदेखि १५ वर्ष कैद वा ५ लाखदेखि १० लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *