भारतीय विदेश सचिव क्वात्रा सोमबार नेपाल भ्रमणमा आउँदै
काठमाडाैं, २७ माघ । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा सोमबार दुई दिने नेपाल भ्रमणका लागि नेपाल आउँने भएका छन्।
परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै क्वात्राको भ्रमणबारे जानकारी दिएका हुन् । क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपाल भ्रमणका लागि आउन लागेको हाे ।
क्वात्राले भ्रमणका क्रममा समकक्षी पौड्यालसँग औपचारिक छलफल गर्ने छन्। उक्त छलफलमा दुई पक्षीय सहकार्यका विभिन्न पक्ष जस्तै कनेक्टिभिटी, उर्जा व्यापार, कृषि, स्वास्थ्यबारे छलफल हुनेछ।
विदेश सचिवको रूपमा क्वात्राको यो पहिलो नेपाल भ्रमण हो । क्वात्राले भारतीय राजदूतका रूपमा नेपालमा दुई वर्ष बिताएका थिए।
