टर्की–सिरिया भूकम्पपछि वैज्ञानिकहरूको खोज

के भूकम्पको भविष्यवाणी गर्न सकिँदैन ?

काठमाडौं, २८ माघ । टर्की र सिरियामा ठूलो विनाश हुने गरी आएको भूकम्पले विश्वभरिका वैज्ञानिकहरूलाई फेरि एक पटक भूकम्पको भविष्यवाणी कसरी गर्न सकिएला भनेर मथिङ्गन घुमाउन बाध्य पारेको छ । ठूला भूकम्पहरू आउनसक्ने भविष्यवाणी गर्न सके यसबाट हुने धन र जनको क्षतिलाई केही हदसम्म भए पनि न्यून गर्न सकिने आशा उनीहरूले गरेका छन् ।

टर्की–सिरिया भूकम्प पछि बेलायतको नर्थवेस्टर्न विश्वविद्यालयका भूकम्पविद् तथा तथ्याङ्कशास्त्रीहरूको एउटा समूहले भूकम्पको भविष्यवाणी गर्न सकिने नयाँ मोडेल तयार गरेको दावी गरेको छ ।

उनीहरूको दावी अनुसार टर्कीमा हालै गएको ७.८ रेक्टर स्केलको ठूलो भूकम्पको अध्ययन गर्दा त्यस्तै प्रकारको ठूलो भूकम्प आउने क्षेत्र र समयबारे सामान्य अनुमान गर्न सकिने सूत्र फेला परेको छ ।

सो क्षेत्रमा गएका पूराना भूकम्पहरूको समय र अवधिको तथ्याङ्कहरू विश्लेषण गर्दा सोही ठाउँ वा सो क्षेत्रको वरपर आउनसक्ने त्यस्तै ठूलो भूकम्पको भविष्यवाणी गर्न सकिन्छ ।

हरेक भूकम्पले आफूसँग भएको सम्पूर्ण शक्ति निष्काशन (रिलिज) गरेको हुँदैन । केही शक्ति बचेको हुन्छ जुन भविष्यमा आउने अर्को भूकम्पको लागि ‘स्मरण’ भएर जीवित रहन्छ । बचेको यो शक्ति नै अर्को भूकम्पको कारक बनेको हुन्छ ।

उनीहरूका अनुसार हरेक भूकम्पले आफूसँग भएको सम्पूर्ण शक्ति निष्काशन (रिलिज) गरेको हुँदैन । केही शक्ति बचेको हुन्छ जुन भविष्यमा आउने अर्को भूकम्पको लागि ‘स्मरण’ भएर जीवित रहन्छ । बचेको यो शक्ति नै अर्को भूकम्पको कारक बनेको हुन्छ ।

पहिले आएका दुई ठूला भूकम्पहरूको यही ‘स्मरण’ का आधारमा तेस्रो भूकम्पको भविष्यवाणी गर्न सकिने दावी उनीहरूको रहेको छ ।

अहिले गरिएको यो अध्ययनमा केवल भूकम्पहरूको इतिहास मात्र समावेश छैन । यसमा पृथ्वीको बाह्य वायुमण्डल, भूकम्प, अन्तरिक्षबाट गरिने पृथ्वीको भूगोल, भूआकर्षण शक्तिको मापन आदि जस्ता तत्वहरूको अध्ययन पनि समावेश गरिएको छ ।

अहिले टर्कीमा गएको ७.८ रेक्टर स्केलको भूकम्पको केन्द्र टर्कीको गाजिन्टेप नगरमा रहेको थियो । यति ठूलो भूकम्प आइसकेपछि त्यस लगत्तै फेरि ६.७ रेक्टर स्केलको ठूलो पराकम्प आएको थियो भने त्यसको केही घन्टा पछि फेरि ७.५ रेक्टर स्केलको अर्को भूकम्प आएको थियो । यसपछि पनि सयौं पटक साना पराकम्पहरू आएका थिए ।

यो भूकम्पमा परी अहिलेसम्म २३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । हराइरहेका मानिसहरू अब जीवित भेटिने सम्भावना लगभग छैन नै भन्दा हुन्छ । तै पनि सरकारले एक हप्तासम्म पनि मानिस जीवित भेटिन सक्छ भन्दै नागरिकको मन राख्ने प्रयास गरिरहेको छ ।

टेक्टोनिक प्लेट भन्ने पृथ्वीको सतहमा रहेका चट्टानका ठूलठूला पाताहरू जब एक आपसमा पेलेर एकमाथि अर्को खप्टिन खोज्छ, तब सतहमा कम्पन उत्पन्न हुन्छ । त्यसै कम्पनलाई भूकम्प भनिन्छ ।

यो पृथ्वीको जुन जमिनमा टर्की भन्ने देश विद्यमान रहेको छ, त्यो जमिनको मुनि एक अर्कोमा खप्टिन खोजिरहेका यस्ता धेरै नै चट्टानका पाताहरू रहेका छन् । त्यसैले टर्कीलाई भूकम्पीय हिसाबले अत्यन्तै जोखिम भूभागमा रहेको देश भनिन्छ ।

भूकम्पीय हिसाबले जसरी टर्की अत्यन्त जोखिमपूर्ण छ, नेपाल पनि त्यसरी नै जोखिमपूर्ण भूभागमा अडिएको मुलुक हो । टर्कीलाई भूकम्पीय दृष्टिकोणले संसारकै सबैभन्दा जोखिमपूर्ण भूभाग मानिन्छ । नेपालको अवस्था पनि त्यो भन्दा फरक छैन ।

त्यसैले भूकम्पको भविष्यवाणी खोज्ने वैज्ञानिकहरूको यो प्रयासले यदि कुनै सफलता हात पार्न सक्यो भने त्यो नेपालको लागि पनि अत्यन्तै उपयोगी हुनेमा दुई मत नहोला ।
भूकम्पको भविष्यवाणीबारे अहिले अनुसन्धाताहरूले जुन सूत्र पत्ता लगाएको हो त्यो भूकम्पको अग्रकम्पन पत्ता लगाउन प्रयासरत वैज्ञानिकहरूका लागि महत्वपूर्ण सामग्री हुनसक्ने दावी गरिएको छ ।

तथापि अमेरिकाका भूगर्भवेत्ताहरूले भने ठूला भूकम्पबारे भविष्यवाणी गर्न सम्भवै नहुने दावी अझैसम्म छोडेका छैनन् । उनीहरूका अनुसार भूकम्पको भविष्यवाणी भन्नाले केवल भूकम्प आउनेवाला छ मात्र भनेर पुग्दैन । भूकम्प आउने दिन, समय, स्थान र म्याग्नेच्युट समेत बताउन सक्नुपर्छ ।

उनीहरुका अनुसार अब आउने भूकम्प कस्तो प्रकृतिको हुनसक्छ भनेर अनुमानसम्म गर्न सकिन्छ, त्यो आउने दिन र क्षेत्र भन्न सकिँदैन । तैपनि भूकम्पको भविष्यवाणी गर्ने वैज्ञानिकहरूको प्यासलाई हालैको टर्की–सिरिया भूकम्पले भने अझै बढाइदिएको छ ।

(विभिन्न एजेन्सीहरुका सामग्रीमा आधारित)