पोखराकाे लेकसाइडमा भिषण आगलागी

कास्की, २८ माघ । पोखराको लेकसाइडस्थित हल्लनचोकमा रहेको लेकसाइड सेन्टरको भवनमा आज साँझ भिषण आगलागी भएकाे छ ।
हल्लनचोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्सको भूइँतलामा रहेको गोदामबाट साँझ ४ः३५ बजे सुरु भएको आगलागी दुई घण्टापछि बल्ल नियन्त्रणमा आएको छ ।
आगलागी ६ः४५ बजे पूर्ण नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बैदामका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगलागीबाट सेन्टरमा सञ्चालित आधा दर्जन व्यापारिक प्रतिष्ठानमा क्षति पुगेको छ । आगलागीका समयमा कर्मचारी तथा ग्राहक पसलमा भए पनि मानवीय क्षति भने भएको छैन ।
प्रहरी निरीक्षक पौडेलले भन्नुभयो, “आगलागी पूर्ण नियन्त्रणमा लिएका छौँ । अहिले राति भएकाले क्षतिको सबै विवरण सङ्कलनमा कठिनाइ भएकाले भोलि बिहानमात्र घटनास्थलको मुचुल्का गर्नेछौँ ।” विद्युत् सर्ट भएका कारण आगलागी भएको अनुमान गरिएको छ ।
आगलागी नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थल र पोखरा महानगरको गरी चारवटा बारुणयन्त्र र निजी खानेपानी कम्पनीका ट्याङ्करसमेत परिचालन गरिएको थियो । लेकसाइडको मुख्य सडक क्षेत्रमा भएको आगलागीका कारण प्रहरीले सवारी आवागमन रोकर घटनास्थललाई नियन्त्रणमा लिएको थियो ।
आगलागीबाट सेलवेज डिपार्टमेन्टल स्टोर्सको गोदाम पूर्ण क्षति भएकाे छ । त्यस्तै हिमालयन जाभा क्याफे, नासा ट्रेकिङ इकुप्मेन्ट सप, प्याडल नेपाल, तिब्बतीयन कल्चर सप, मसला बिटलगायतका पसलमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।
घटनापछि ठूलो सङ्ख्यामा सर्वसाधारण घटनास्थलमा जम्मा हुँदा प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो ।