बेनी–जोमसोम सडक दैनिक साढे छ घण्टा बन्द हुने

म्याग्दी, २९ माघ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ ।

स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–जोमसोम सडकको बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समयतालिका बनाइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले आगामी फागुन १ देखि १५ गतेसम्म बिहान ६–८, दिउँसो ११ः३० देखि १ः३० र राति ८ः३० देखि ११ बजेसम्म सडक स्तरोन्नतिका लागि यातायात आवतजावत बन्द गरिने जानकारी दिनुभयो ।

एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई सहज आवतजावत र साना सवारी डल्लेपिपल–राहुवडा–गलेश्वर वैकल्पिक मार्गको व्यवस्था मिलाइने भएको छ ।

सडक विस्तार र यातायात सञ्चालनसँगै हुँदा दुर्घटनाको जोखिम, यात्रुलाई सास्ती र निर्माणकार्य प्रभावित बनेपछि समयतालिका बनाएको उहाँले बताउनुभयो ।

निर्माण व्यवसायीले बेनी–जोमसोम¬– कोरला सडक आयोजनामार्फत प्रशासनमा समयतालिकाको व्यवस्था मिलाउन निवेदन दिएका थिए । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाकाे सम्झौतालगत्तै सडक फराकिलो बनाउन पहाड काट्ने र डिलतर्फ पर्खाल बनाउने कामलाई तीव्रता दिएको छ ।