जनयुद्ध दिवस

प्रचण्ड सरकारकाे ‘जनयुद्ध दिवस’, सत्ता साझेदार दलहरूनै असन्तुष्ट

काठमाडौं, १ फागुन । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिने निर्णयसंगै सत्ता साझेदार दलहरू असन्तुष्ट बनेका छन् ।

हिजोकाे मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले आफै ठाडो प्रस्ताव लगेर जनयुद्ध दिवसमा बिदा दिने निर्णयसंगै सत्ता साझेदार दलहरू असन्तुष्ट बनेका हुन् ।

सरकारकाे यस्ताे कदमले सत्ता साझेदार दल राप्रपाका मन्त्रीहरू मन्त्रिपरिषद् बैठकमा सहभागी नै भएनन् । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सामाजिक सञ्जालमा स्टाटस लेखेर आक्रोश पाेखेका छन् ।

मिश्रले स्टाटसमा लेखेका छन् ‘नेपालीले नेपाली मारेकोमा दिवस मनाउने ?’ ‘ठीक छ, यति तल गिर्नै थियो’ गिर्दैछौं । रसातलमा नै पुग्न आँटेका छौँ । त्यसपछि यो राष्ट्रघाती विकृत अग्रगमनको प्रदूषणकारी बत्ती आफैँ निभ्नेछ ।’

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले कुनै राजनीतिक दलको अगुवाइमा भएको हिंसात्मक द्वन्द्वलाई उत्सवको रुपमा मनाउनु दुर्भाग्य भएकाे बताएका छन् ।

त्यस्तै एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सरकारको निर्णयमा घुमाउरो असहमति जनाएका छन् ।

एमालेका नेता गोकुल बास्कोटाले पनि सामाजिक सञ्जालमा लेखेका छन् ‘अस्तिसम्म बिदा बढी भो भन्थे प्रम पुष्पकमल दाहाल । किन रै’छ भनेको त पूर्व देखाएर पश्चिम हान्न रहेछ । तैं चुप मै चुप । मौकामा हिरा फोर्नु बेमौकामा कौडी नछुनु भनेको त्यसै होइन रहेछ पुर्खाले ।’

त्यस्तै सत्ता साझेदार वाहेकका दलहरूले पनि असन्तुष्ट पाेखेका छन् । कांग्रेस नेता शेखर कोइरालाले ट्विट गर्दै लेखेका छन् “एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौँ भन्दै हुनुहुन्छ, तर एकाएक आएर सरकारले संविधानले चिन्दै नचिनेको ‘जनयुद्ध दिवस’का नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ,”