सेनाको विशेष विमानबाट काठमाडौं आइपुगे भारतीय विदेश सचिव क्वात्रा

काठमाडौं, १ फागुन । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौं आइपुग्नुभएको छ । उहाँ भारतीय सेनाको विशेष विमानबाट नेपाल आउनुभएको हो ।
विदेश मन्त्रालय सम्हाल्ने एक जना सचिवस्तरको कर्मचारी भारतीय सेनाको विशेष विमानबाट नेपाल आउनुलाई कुटनीतिक क्षेत्रमा अर्थपूर्ण रुपमा लिइएको छ ।
भारतले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको सन्देश प्रवाहका लागि पनि विदेश सचिवलाई सेनाको विशेष वायुयानबाट नेपाल पठाएको टिप्पणी कुटनीतिक क्षेत्रले गरेको छ ।
आज बिहान १०ः५० बजे उहाँ चढेको भारतीय वायुसेनाको विशेष विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेको थियो । उहाँलाई नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गर्नुभएको थियो । उहाँ परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपाल आउनुभएको हो ।
काठमाडौंमा उहाँ नागपोखरीस्थित होटल मेरियटमा बस्नुहुने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नुहुने कार्यक्रम रहेको छ । उहाँहरुबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको छ । सत्ता साझेदार पार्टी नेकपा (एमाले) का अध्यक्ष केपी ओलीलाई भने उहाँले आजै बालकोट जानुभई भेट्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री दाहालसँगको भेटमा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनुभएको भारत भ्रमणको निम्तो पनि हस्तान्तरण गर्नुहुनेछ । नेपालमा पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि भारतबाट भएको यो नै सबैभन्दा ठूलो उच्चस्तरीय नेपाल भ्रमण हो ।
भारतीय विदेश सचिव क्वात्रा यस अघि नेपालमै भारतीय राजदूतका रुपमा कार्यरत हुनुहुन्थ्यो । त्यसैले उहाँलाई नेपालका मामिलामा जानिफकार कुटनीतिज्ञ मानिन्छ ।
प्रदर्शनकारीहरु पक्राउ
यसै बीच भारतीय विदेश सचिवलाई कालो झण्डा देखाउने प्रयास गरेका केही प्रदर्शनकारीहरूलाई त्रिभुवन विमानस्थलको मूलद्वारमा पक्राउ गरिएको छ । मूलद्वारमा बसी तारा बरालको समूहले प्रदर्शन गरेको थियो । पक्राउ गरिएका प्रदर्शनकारीहरूलाई गौशाला प्रहरी चौकीमा राखिएको छ ।
–––