जनयुद्ध दिवसको विदा विरुद्ध प्रदर्शन

काठमाडौं, १ फागुन । सरकारले जनयुद्ध दिवसको उपलक्ष्यमा आज दिएको सार्वजनिक विदाको चौतर्फी आलोचना भइरहेकै बेला आजै द्वन्द्वपीडित समुदायको अगुवाईमा सिंहदरबार अगाडि विरोध प्रदर्शन पनि भएको छ ।
आज बिहान काठमाडौंको सीडीओ कार्यालय अगाडि द्वन्द्वपीडित तथा नागरिक समाजका अगुवाले जनयुद्ध दिवसलाई ‘कालो दिवस’ भन्दै ब्यानर प्रदर्शन गरेको थियो ।
प्रदर्शनको आयोजना द्वन्द्वपीडित समाजले गरेको भनिए पनि सामाजिक सञ्जाल मार्फत यसको आह्वान भने वरिष्ठ पत्रकार कनकमणि दीक्षितले गर्नुभएको थियो ।
प्रदर्शनकारीहरुले फागुन १ को सार्बजनिक बिदा खारेज गर, द्वन्द्वपीडितलाई न्याय गर लेखिएका प्लेकार्डहरु पनि प्रदर्शन गरेका थिए । कार्यक्रममा विभिन्न मानव अधिकारकर्मीहरूको पनि उपस्थिति रहेको थियो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले हिजो मात्रै फागुन १ गते जनयुद्ध दिवसको उपलक्ष्यमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । योभन्दा अघि माओवादी नेतृत्वमा रहेको बागमती प्रदेशको सरकारले प्रदेशभरि जनयुद्ध दिवसको विदा दिने निर्णय गरेको थियो भने हिजो राज्यभर नै विदा दिने निर्णय संघीय सरकारले पनि गरेको थियो ।
यसै बीच पूर्व मन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले जनयुद्ध दिवसको उपलक्ष्यमा दिइएको यो बिदा बारे नेपाली कांग्रेसको धारणा के हो भनी माग गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत आफ्नै पार्टीका सभापति र दुई महामन्त्रीहरूलाई समेत प्रश्न राख्दै उहाँले यो माग गर्नुभएको छ ।
उहाँले राष्ट्रपति चुनावका कारण कांग्रेस वर्तमान सरकारको यो निर्णय प्रति मौन बसेको संकेत पनि दिनुभएको छ ।