मोबाइल लुटपाट गर्नेलाई छानविन गरी कारबाही गर्न गृह मन्त्रालयकाे निर्देशन

काठमाडौं, २ फागुन । बालाजुमा सोमबार साँझ भएको यातायात मजदुरको आन्दोलनका क्रममा मोबाइल पसलमा भएको लुटपाट घटनाको छानविन गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।

आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले ल्होत्से मलमा तोडफोडका साथै मलमा सञ्चालित एसिडीसी मोबाइल सेन्टरमा लुटपाट गरेका थिए।

गृह सचिव विनोद प्रकाश सिंहले मंगलबार प्रहरी आइजिपी धिरजप्रताप सिंहलाई टेलिफोनमार्फत् यस विषयलाई गम्भीरतापूर्वक अनुसन्धान गर्न निर्देशन दिएका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतका अनुसार नियमित अनुसन्धानको काम प्रहरीले गर्ने भएपनि यस विषायलाई गम्भीरतापूर्वक अनुसन्धान गर्न गृह सचिव सिंहले आइजिपी सिंहलाई निर्देशन दिएका हुन् ।

सोमबार प्रदर्शनका क्रममा यातायात मजदुरले गरेको आन्दोलनले उग्र रूप लिएपछि बसपार्क क्षेत्रमा तोडफोड र प्रहरीका गाडीमा आगजनी गरिएको थियाे ।