नेपाल टी-२० लिग स्पट फिक्सिङ

सेभेन थ्री स्पोर्टसका मालिक जतिनसहित सिआइबीले बनायो १२ जनालाई प्रतिवादी

काठमाडाै, ३ फागुन । नेपाल टी-२० क्रिकेट लिगमा भएको स्पट फिक्सिङमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान सकाएकाे छ ।

सिआइबीका प्रवक्ता एसपी सन्जयसिंह थापाले मुख्य अभियुक्त सेभेन थ्री स्पोर्ट्सका मालिक जतिनसहित १२ जनालाई प्रतिवादी बनाएको जानकारी दिए । सिआइबीले अनुसन्धान प्रतिवेदन मंगलबार सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ।

प्रहरीले सेभेन थ्री स्पोर्टसका मालिक जतिन अलुवालिया, नितेश गुप्ता, पूर्वखेलाडी मेहबुब आलम, मोहम्मद आदिल आलम, अभिषेक सकलानी, राहुल शर्मा, एन्ड्रिउ म्याकर्थी, रवि माझी, समिर शेख, वीरेन्द्र साह, विकास धामी र नवीन कँडेललाई प्रतिवादी बनाएको हो। स्पट फिक्सिङमा जतिनलाई नै मुख्य अभियुक्त बनाएको एसपी थापाले बताए।

नेपाल क्रिकेट संघले सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरी लिग सञ्चालन गरेको थियो। यसको मुख्य प्रायोजक पनि बेटिङ कम्पनी वान एक्स बेटबाट सञ्चालन हुने वान एक्स ब्याट थियो। जसले गर्दा पनि लिगमा बेटिङ र स्पट फिक्सिङ भएको शंका भएको थियो।

सिआइबीले स्पट फिक्सिङ गरेको आरोपमा नितेश गुप्ता, पूर्व खेलाडी महबुब आलम र खेलाडी मोहम्मद आदिल आलमलाइ पक्राउ परेका छन् भने अरू प्रतिवादी फरार छन्।

गुप्ताले आरिफ शेखलाई फिक्सिङको प्रस्ताव गरेका थिए। शेखलाई प्रस्ताव आएपछि उनले एन्टी करप्सन युनिट र नेपाल क्रिकेट ‌संघ (क्यान)लाई खबर गरेका थिए।

पूर्वखेलाडी मेहबुब आलमले आदिललाई फिक्सिङको प्रस्ताव गरेको अनुसन्धानबाट खुलेको थियो। प्रस्तावअनुसार नै आदिलले दुई वटा खेलमै स्पट फिक्सिङ गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियाे ।

पक्राउ परेका दुई जना खेलाडीहरूमाथि प्रहरीले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार अनुसन्धान अघि बढाएको छ। मेहबुब र आदिललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ।

ऐनको दफा ३१ अनुसार खेलमा मिलोमतो तथा अनियमितता गरेमा ३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ। यसमा कुनै रकम लेनदेन भएको भएमा जफतसमेत गर्ने कानुनी व्‍यवस्था छ।

यस्तै ऐनमा कसुर गर्न आदेश वा निर्देशन दिने, त्यस्तो कसुर गर्न दुरूत्साहन दिने, उक्साउने वा मद्दत गर्ने व्यक्तिलाई पनि मुख्य कसुरदार सरह सजाय हुने व्यवस्था छ।