ल्होत्से मलमा आन्दाेलनकाे क्रममा लुटपाटमा संलग्न थप १५ जना पक्राउ

काठमाडौं, ४ फागुन । नयाँ बसपार्कस्थित ल्होत्से मलमा आन्दाेलनकाे क्रममा लुटपाटमा संलग्न थप १५ जना पक्राउ परेका छन् ।
यातायात मजदुरको आन्दोलनका क्रममा भएको लुटपाटमा संलग्न थप १५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
योसँगै लुटपाटमा संलग्न पक्राउ पर्नेको संख्या १९ पुगेको छ । यसअघि ४ जनालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरिसकेकाे थियो ।
उनीहरुलाई भिडियोका आधारमा पहिचान गरेर पक्राउ गरेको उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जनाएकाे छ ।
पक्राउ परेका मध्ये ७ जना महानगर, बाइसधारा र तारकेश्वर यातायातका चालक र सह–चालक छन् । पक्राउ पर्नेमा केशर राई, सुरज मगर, रितेश बस्नेत, इन्द्र तामाङ, इलाराज गुरुङ, राजन राउत, हरिशरण तामाङ, विकास गुरुङ र संविधान परियार छन् । उनीहरु चालक र सहचालक हुन् ।
पक्राउ परेका मध्ये अरु केही तोडफोड र आगजनीमा संलग्न व्यक्ति पनि रहेकाे पाइएकाे छ ।