प्रतिबन्धित भारतीय रुपैयाँसहित त्रिभुवन विमानस्थलबाट एक पक्राउ

काठमाडौं, ५ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिबन्धित भारतीय रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्डव्यागेज चेकिङ एरियाबाट नेपालमा प्रतिबन्धित २ हजार दरको २ लाख ४० हजार भारतीय रुपैयाँ सहित भारतीय नागरिक ४६ वर्षीय टुकाराम मल्हारी गडधेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

एयर इन्डियाको उडानद्वारा काठमाडौंबाट भारतको कलकत्ता प्रस्थान गर्न लागेका उनलाई जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको छ ।

बरामद गरिएका भारतीय रुपैयाँ सहित उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।