पशुपतिनाथमा महाशिवरात्रि पछिको फोहोर

काठमाडौं, ७ फागुन । हिजो महाशिवरात्रिका दिन पशुपतिनाथको मन्दिरमा पुगेका लाखौं भक्तजनहरूले गरेको फोहोर आज बिहानसम्म जस्ताको तस्तै थियो । त्यसमा खास गरी खाना खाएर फ्यालिएका प्लास्टिकका प्लेट, कागजको गिलास र प्लास्टिकै चम्चा थिए ।

महाशिवरात्रिका दिन पशुपतिनाथको मन्दिरमा आउने भक्तजनहरूलाई प्रसाद स्वरुप बाँडिएको खानाको जुठो प्लेट त्यसरी फालिएको थियो । खाना बाँड्नेहरूले खाइसकेपछि जुठो फाल्ने छुट्टै ठाउँको व्यवस्था नगर्दा बाटोमै जथाभावी फालिएका थिए ।

आज बिहानसम्म जस्ताको तस्तै रहेको ती सबै जुठो फोहोर हिन्दू राष्ट्रवादी पार्टी राप्रपाका कार्यकर्ताहरूले बिहान सफा गरेका थिए । त्यसको नेतृत्व राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रले गर्नुभएको थियो ।

सफाइ पछि मिश्रले सामाजिक सञ्जालमा फोहोरको तस्बिर समेत राखी नेपालका हिन्दू मन्दिरहरू यसरी फोहोर गरिने प्रवृत्तिको आलोचना पनि गर्नुभयो । नेपालका अन्य धर्मावलम्बीहरूको गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिकस्थलहरु सफा रहे पनि हिन्दू मन्दिरहरू भने फोहोर हुने भएकोले त्यसको सरसफाइमा ध्यान दिनुपर्ने सुझाव पनि उहाँले दिनुभएको छ ।

पर्व मनाए पनि पशुपति विकास कोषले सरसफाइमा ध्यान नदिएकोमा पनि उहाँले आलोचना गर्नुभएको छ ।

हिजो पशुपतिनाथको मन्दिरमा जाने धेरै भक्तजनहरूको जुत्ता पनि उहीं छोडिएको बताइएको छ । मन्दिर प्रवेश गर्नु अघि जुत्ता फुकाल्नु पर्ने नियम बनाइए पनि फर्कंदा भने जुत्ता भएतिर जानै नदिएका कारण धेरै भक्तजनहरू पशुपतिनाथको दर्शन पछि खाली खुट्टा नै घर फर्किएका थिए ।

हरेक शिवरात्रिमा पशुपतिमा त्यसरी छोडिएका जुत्ताहरू समेत पचासौं बोरा हुने गर्दछ ।