स्पट फिक्सिङ : मोहमद आलमसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता

काठमाडौं, ८ फागुन । राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर मोहमद आदिल आलमसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।
नेपाल टी–२० लिग दौरान स्पट फिक्सिङ गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरोले मोहमद आदिल आलम, पूर्वराष्ट्रिय खेलाडी महबुब आलमसहित तीन जनालाई पक्राउ गरेको थियो ।
केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानको आधारमा जिल्ला वकिलको कार्यालय काठमाडौंले ५ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको जिल्ला न्यायाधिवक्ता अच्युतमणि न्याैपानेले बताए ।
नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको आशंका सार्वजनिक भएपछि ब्यूरोका डीएसपी सुन्दर तिवारीको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । समितिले गरेको अनुसन्धानका क्रममा १२ जनाको संलग्नता पुष्टि भएको प्रहरीले बताएको थियो ।
उनीहरुविरुद्ध राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३१, ३२ र ३३ अनुसार कारबाही गर्न माग दाबी गरिएको छ । यस्ता गतिविधिमा संलग्नलाई तीन वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ ।