राष्ट्रपतिका लागि बिकल्पको रणनीतिमा एमालेः नरम बन्दै नेपाल, देउवासँग पनि छलफल

काठमाडौं, ९ फाुगन । नेकपा (एमाले)को नेतृत्वमा नयाँ गठबन्धन बनेर एमालेसहितका दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको भोलि अर्थात फागुन १० गते ठिक दुई महिना पूरा हुदैँछ ।

पुस १० गते पुरानो सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुबै आफैँसँग राख्ने रणनीति लिएपछि असन्तुष्ट बनेर बालुवाटारबाट गठबन्धन छाडेर बालकोट पुग्नु भएका प्रचण्डले त्यतिबेला आफू प्रधानमन्त्री बन्ने र एमालेलाई राष्ट्रपति दिने सहमति गर्नुभएको थियो । बालकोटको बार्दलीबाट एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले हात हल्लाएर सहमतिको सन्देश दिएपछि तत्कालिन अवस्थाको राजनीतिक समीकरणमा फेरबदल भएको थियो ।

नयाँ गठबन्धनसँगै राजनीतिक स्थायीत्वको संभावना पनि बढ्दै गएको थियो । तर, जब प्रचण्डले प्रधानमन्त्रीमा विश्वासको मत लिने दिन नेपाली कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दियो त्योसँगै राजनीतिमा फेरि अविश्वासको विउ रोपियो ।

त्यहि दिनदेखि बक्ररेखातिर कुदिरहेको राजनीतिक आजको दिनसम्म पनि कतातिर मोडिने हो भन्ने यकिन तस्बिर आउँन सकेको छैन । प्रधानमन्त्रीमा अभूतपूर्ण समर्थनपछि हौसिनु भएका प्रचण्ड त्यहि दिनदेखि राष्ट्रिय सहमतिको रटानमा हुनुहुन्छ । अहिले त्यहि रटानले प्रचण्ड प्रधानमन्त्रीको जिम्मेवारीमा कम र राजनीतिक खिचातानीको खेलोमा बढी केन्द्रित हुन थाल्नु भएको छ । कहिले देउवा निवास त कहिले माधव कुमार नेपाल निवास अनि कहिले बालकोट गर्दै आउनु भएका प्रचण्डले राजनीतिको गाँठो फुकाउने भन्दा पनि झन कसिलो बनाउने फोहोरी खेलमा आफूलाई समाहित गर्दै आउनु भएको छ । उहाँको त्यो फोहोरी रणनीतिले राष्ट्रपति को बन्ने भन्ने विषय एकपछि अर्को गर्दै जटिल बन्न थालेको छ ।

विगतमा पनि असाध्यै अस्थिर स्वाभावका प्रचण्डले प्रधानमन्त्री भएपछि आफूलाई सुधार गर्ने प्रतिवद्धता त व्यक्त गर्नुभयो । तर, ‘नानीदेखि लागेको बानी…’ भने जस्तै उहाँमा सुधारको कुनै पनि गुञ्जायस देखिएको छैन । यतिसम्म कि आफ्नो प्रधानमन्त्रीको पद केही महिना थपथाप गर्ने ध्याउन्नमा उहाँले देउवासँग भेट हुँदा राष्ट्रपति कांग्रेसलाई दिने प्रतिवद्धता त ओलीसँग भेट्दा पुस १० को सहमतिबाट दायाँबायाँ नहुने बचन राख्दै आउनु भएको छ । तर, उहाँको अस्थिर राजनीतिलाई नजिकबाट चिन्ने देउवा र ओली दुबै उहाँसँग विश्वास गरिहाल्ने अवस्थामा भने हुनुहुन्न ।

देउवासँगको भेटमा प्रचण्डले कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्नुअघि आफ्नो कार्यकाल कम्तीमा चार वर्ष पु¥याउने लिखित सहमति बार्गेनिङ गरिरहनु भएको छ । यद्यपि, कांग्रेसले बढीमा तीन वर्ष भन्दा दिन नसक्ने अडान राख्दै आएको छ ।

यसरी हेर्दा प्रचण्ड पछिल्लो समय एमाले र कांग्रेस दुबैतिर बार्गेनिङमा लागेको देखिन्छ । यसले राजनीतिलाई थप अस्थिर बनाउँदै लगेको छ । माओवादीको सोमबार भएको पदाधिकारी बैठकले समेत भावी राष्ट्रपतिका लागि नयाँ समीकरणको ढोका खुला गर्दै आवश्यकताअनुसार निर्णय लिन प्रचण्डलाई नै जिम्मेवारी दिएको छ । यो जिम्मेवारीपछि प्रचण्ड थप दौडधुपमा लागेको बुझिएको छ । प्रचण्डले माओवादी बैठकमा एमाले, कांग्रेस र एकीकृत समाजवादीका नेतासँग भएका छलफलबारे ‘ब्रिफिङ’ समेत गर्नुभएको थियो । माओवादीमा पनि अहिले कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने भन्दा पनि यहि गठबन्धनलाई अझ बलियो बनाउनुपर्ने मत बलियो छ । त्यसकारण पनि प्रचण्डलाई सजिलै निर्णय गर्न समेत हम्मेहम्मे पर्ने देखिएको छ ।

पछिल्लो समय प्रचण्डको अस्थिर राजनीतिबाट वाक्क बनेको एमाले समेत अहिले विकल्पको खोजिमा रहेको बुझिएको छ । कुनै समय प्रचण्डको उक्साहटमा पार्टी विभाजनसम्म गरेर नेकपा समाजवादी गठन गर्नुभएका माधवकुमार नेपालको राजनीतिक पृष्ठभूमि निकै लामो छ ।

ओली–नेपालको विगत हेर्ने हो भने दुई नेताको सम्बन्ध तिक्ततामा मात्रै व्यथित भएको छैन । नेपाल अप्ठ्यारोमा पर्दा ओलीले र ओली अप्ठ्यारोमा पर्दा नेपालले सहयोग गरेको इतिहास पनि छ ।

लामो राजनीतिक इतिहासमा सँगै विभिन्न भँगाला हात समातेर तरेका दुई नेता ओली र नेपाललाई पछिल्लो समय नजिक ल्याउने प्रयासहरु जारी रहेका छन् । ओली निकटका दोस्रो पुस्ता र नेपाल निकटका दोस्रो पुस्ताका नेता पनि अहिले यी दुई नेताबिच सम्बन्ध समधुर बनाउने प्रयासमा रहेको बुझिएको छ ।

आफैले गरेको सहमतिलाई लत्याएर प्रचण्डले फोहोरी खेल खेल्न थालेपछि विकल्पको रुपमा एमालेले नेपाललाई राष्ट्रपतिका रुपमा समेत अघि सार्नेसम्मको प्रयास भएको बझिएको छ । नेपाल निकट स्रोतले यो कुराको पुष्टि गर्दै भन्यो– ‘सञ्चार माध्ययममा आए जस्तो उहाँहरुबिच भेटघाट नै भएको नभए पनि यो विषयमा सकारात्मक छलफल भने भएको छ ।’ कांग्रेस शीर्ष नेताहरूसँग आइतबार भएको छलफलमा समेत प्रचण्डले एमालेले नेपाललाई अघि सार्न सक्ने संकेत गरेपछि कांग्रेस थप झस्किएको बुझिएको छ । ‘प्रचण्ड विश्वास गर्न लायक नेता हुँदैहोइन,’ नेपाल निकट स्रोतले भन्यो, ‘प्रचण्डले कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिसकेका छन् ।

तर, नेपालको नाम आएपछि उनी अलमलमा छन् ।’ अलिक अघिसम्म राष्ट्रपतिका लागि चासो नदेखाउनु भएका नेपाल पनि पछिल्लो समय सहमति जुटेको अवस्थामा ‘नाई नभन्ने’ अवस्थामा पुगेको बुझिएको छ । नेपालको नाम एमालेले प्रस्ताव गर्दा प्रचण्ड समेत संकटमा पर्ने सम्भावना छ । त्यसो हुँदा प्रचण्डले समेत बाध्य भएर नेपाललाई सहयोग गर्नुपने अवस्था हुनसक्छ । अहिलेको एमाले नेतृत्वको गठबन्धन जोगाउन र भविश्यमा समाजवादीलाई समेत एमालेमै समाहित गराउन यो महत्वपूर्ण अवसर हुनसक्ने नेपाल निकट नेताहरुको भनाई छ । यसका लागि समाजवादी मात्रै होइन एमाले पनि केही लचिलो हुनुपर्ने आसय समाजवादीका नेताहरुको छ ।

एमालेका एक पोलिट्व्युरो सदस्यले पनि नेपालसँग सकारात्मक छलफल भएको पुष्टि गर्नुभयो । ‘उहाँसँग सकारात्मक छलफल भएको छ,’ उहाँले भन्नुभयो, ‘माधव नेपाललाई राष्ट्रपतिको रुपमा अघि सार्दा एकातिर उहाँको सम्मान हुन्छ भने अर्कोतर्फ भविश्यमा पार्टी एकता गरेर जानका लागि ढोका पनि खुल्छ भन्ने ढंगबाट छलफल भएका छन् । जहासँम्म लाग्छ । यसले सकारात्मक सन्देश दिन्छ भन्ने लागेको छ ।’

एमाले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, पोलिट्व्युरो सदस्य महेश बस्नेतलगायतका नेताहरु समेत नेपाललाई राष्ट्रपति बनाएर अघि बढ्ने कुरामा नकरात्मक नदेखिएकाले पनि यो संभावनालाई नकार्ने अवस्था देखिन्न । योसँगै नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खनालले समेत राष्ट्रपतिमा चाहना राखेकाले समाजवादीबाटै राष्ट्रपति बन्ने अवस्थामा खनाल पनि बिकल्पका रुपमा आउन सक्ने बुझिएको छ । त्यसका लागि खनाल स्वयंले पनि पहल गर्दै आउनु भएको बुझिएको छ ।
योसँगै अर्को विकल्पका रुपमा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिको प्रस्ताव गर्नेसम्मको छलफललाई अघि बढाएको बुझिएको छ ।

आफ्नो पार्टीबाट राष्ट्रपति बनाउने पूर्वसहमतिमा माओवादीले धोका दिने करीब निश्चित भएपछि बालकोटले कांग्रेससँको छलफललाई पनि सघन बनाउन थालेको बुझिएको छ । एमालेकै समर्थनमा देउवालाई राष्ट्रपतिका रुपमा सहयोग गर्न सकिनेसम्मको रणनीतिमा समेत एमाले रहेको बुझिएको छ । यसका लागि एमालेका दोस्रो पुस्ताका नेताहरु राष्ट्रपतिसँगै आगामी सरकार सञ्चालनका विषयमा समेत मिलेर अघि बढ्नेसम्मको छलफलमा केन्द्रित भएको बुझिएको छ ।

यद्यपि, एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पुस १० को सहमतिमै एमाले अडिक रहेको भन्दै त्यस्तो अन्य विकल्पहरुमा एमाले नलागेको जानकारी दिनुभयो ।
अहिले राप्रपा र रास्वपा एमालेकै साथमा छन् । यस्तो अवस्थामा एमाले रहेका कारण एमालेले अघि सारेको राष्ट्रपति नै विजयी हुने निश्चित प्रायः छ ।