राष्ट्रपतिमा एकीकृत समाजवादीको औपचारिक दाबीः देउवा भेटेर फर्कियो नेपालको टोली, देउवा बालुवाटारतिर

काठमाडौं, १० फागुन । नेकपा एकीकृत समाजवादीले औपचारिक रुपमै भावी राष्ट्रपति पदका लागि दाबी गरेपछि नेपालले तेस्रो राष्ट्रपतिका रुपमा कस्लाई पाउने हो भन्ने बहस थप पेचिलो बनेको छ । आज बसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले औपचारिक रुपमै भावी राष्ट्रपतिका रुपमा दाबी गरेपछि अबको राजनीतिक समीकरण कतातिर जाने हो भन्ने बहस पनि पेचिलो बनेको छ ।
आज भन्दा ठिक दुई महिना अघि अर्थात पुस १० गते तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुग्नु भएको थियो । त्यहि दिन उहाँ एमालेहितका दलको समर्थनमा प्रधानमन्त्री बन्नुभएको थियो । त्यहि दिन एमालेलाई राष्ट्रपति र माओवादीलाई प्रधानमन्त्री दिने सहमति समेत भएको थियो । तर, पछिल्लो समय प्रचण्ड आफ्नै सहमतिलाई लत्याउँदै हिड्न थालेपछि एमाले नेतृत्वको गठबन्धनमा समस्या देखिएको थियो ।
पछिल्लो समय गठबन्धनसँग भन्दा पनि नेपाली कांग्रेससँग बढी हिमचिममा प्रचण्ड लागेपछि भावी राष्ट्रपतिका लागि कांग्रेसले आफ्नो दाबीलाई बलियो बनाउँदै आएको थियो । प्रचण्डको अस्थिर चरित्रका कारण राष्ट्रपति एमालेले लिने कुरामा अप्ठ्यारो पर्ने आँकलनसहित एमालेले पनि विकल्पका रुपमा समाजवादीका अध्यक्ष नेपाललाई अघि सारेपछि अहिले प्रचण्ड समेत दोधारमा पर्नुभएको छ । केही दिन अघि मात्रै कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने बाचा गर्नुभएका प्रधानमन्त्री प्रचण्ड अहिले नेपालको नाम एमालेले समेत अघि सारेपछि थप दोधारमा पर्नुभएको छ । यो कुराको पुष्टि समाजवादीका नेताहरुले समेत गर्नुभएको छ ।
नेकपा समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पनि आजको सचिवालय बैठकले भावी राष्ट्रपतिका लागि सकारात्मक पहल अघि बढाउने निर्णय गरेको बताउनुभयो । ‘प्रधानमन्त्री निवास बालुवाटरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँगै हाम्रो पार्टी अध्यक्ष माधवकुमार नेपालको पनि भावी राष्ट्रपतिका लागि नाम प्रस्ताव गर्नुभयो भन्ने जानकारी आएको छ,’ खतिवडाले भन्नुभयो, ‘अहिले राष्ट्रपतिका लागि विभिन्न व्यक्तिहरुको नाम चर्चामा आइरहेको छ । हामीले आजको बैठकबाट अध्यक्ष माधव नेपाल वा सम्मानित नेता झलनाथ खनालमध्ये एकलाई अघि सार्ने सहमति गरेका छौँ । त्यसका लागि सम्बन्धित सबैसँग छलफल गर्ने निर्णय भएको छ ।’
उहाँले नेपाली कांग्रेससहितका दलहरुले समर्थन गरेको अवस्थामा आफ्नो पार्टीले राष्ट्रपतिका रुपमा उम्मेदवार अघि सार्ने जानकारी दिनुभयो । समाजवादीका नेताहरुका अनुसार बैठकमा पार्टी अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटबारे पनि जानकारी गराउनु भएको थियो ।
‘एमालेले हाम्रो अध्यक्षज्यूको नाम अघि सारेको भन्ने विषयलाई समेत ध्यानमा राखेर हामी सम्बन्धित दलहरुसँग पनि छलफल गरेर निर्णयमा पेग्छौँ,’ उहाँले भन्नुभयो, ‘पार्टीको सोही म्यान्डेट अनुसार हाम्रो अध्यक्षज्युसहितका नेता कांग्रेस सभापतिसँग छलफल गर्न जानुभएको हो । हाम्रो पार्टीलाई राष्ट्रपति दिने सहमति भयो भने कसलाई बनाउने भन्ने निर्णय हामी लिन्छौँ ।’ उहाँले सकेसम्म बामपन्थी विचारधाराकै व्यक्ति राष्ट्रपति बन्दा भविश्यका लागि पनि सकारात्मक सन्देश जाने बताउनुभयो । समाजवादीको बैठक लगत्तै अध्यक्ष नेपालसहित महासचिव वेदुराम भुसाल, घनश्याम भुसाल र प्रवेश हमाल देउवा नेवास पुग्नु भएको थियो । उहाँहरु छलफलपछि बाहिरिनु भएको छ । उहाँहरु बाहिरिए लगत्तै देउवा प्रचण्ड भेट्न बालुवाटार पुग्नु भएको छ ।
यद्यपि, प्रचण्डको प्राथमिकता कांग्रेसलाई नै राष्ट्रपति बनाउने भएको भन्दै समाजवादीबाट माधव नेपालको नाम प्रस्ताव हुँदा नाई भन्न नसक्ने अवस्थामा पुग्ने अनुमान पनि समाजवादीका नेताहरुले गरेका छन् ।