एमाले आजै सरकारबाट बाहिरिने, मुलुकको राजनीति प्रचण्ड जस्तै अस्थिर बन्दै

काठमाडौं, १५ फागुन । केही दिन अघि अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बसेको सचिवालयको सोह्रौं बैठकले राष्ट्रपतिको निर्वाचनसम्म नेकपा (एमाले) सरकारबाट नबाहिने र समर्थन पनि फिर्ता नलिने निर्णय गरेको थियो । पुस १० मा भएको सहमति अनुसार एमालेले राष्ट्रपतिको निर्वाचनसम्म सरकारमै रहने र समर्थन पनि फिर्ता नलिने निर्णय गरेको थियो ।

तर, विचार, आदर्श, सिद्धान्त र नैतिकताको खास्टो ओढेर राजनीतिमा नैतिक मूल्य, मान्यता र सहमति, सम्झौतालाई घन हान्दै हिड्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विद्रुप राजनीतिमा कुनै सुधारको संकेत नदेखेपछि एमालेले आजै सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने एमाले उच्च स्रोतले जानकारी दिएको छ । ‘हामीले गठबन्धन संस्कृतिलाई सकेसम्म असल ढंगले चलाउन खोजेका थियौँ,’ स्रोतले भन्यो, ‘तर, प्रचण्डको नैतिक मूल्य, मान्यता र सहमति, सम्झौतालाई लत्याउँदै हिड्ने गलत शैलीका कारण त्यो अवस्था सिर्जना हुन सकेन । त्यसैले सकेसम्म एमाले आजै सरकारबाट बाहिरिने तयारीमा छ ।’

परराष्ट्रमन्त्री विमला राई पौड्यालको संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको वैठकमा भाग लिन जेनेभा जाने कार्यक्रम तय भइसकेको थियो । त्यो भ्रमणलाई समेत रोकेर प्रचण्डले नैतिकताहीन काम गरेपछि एमाले प्रचण्डसँग थप असन्तुष्ट बनेको छ ।

एमाले सचिवालयको सोह्रौं बैठकले उपाध्यक्ष सुवास चन्द नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सत्ता साझेदार दलहरूबीच वर्तमान सरकार गठनको समयमा गत २०७९ पुस १० गते भएको सहमति बमोजिम पार्टीले राष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णय गरेको थियो । बैठकले पार्टीका उम्मेदवारलाई विजयी बनाउन सबै राजनीतिक दलसँग सहयोगका लागि आह्वान गर्दै समर्थनका लागि पहल गर्ने निर्णय गरेको थियो ।

तर, एमाले अध्यक्ष ओली निवास बालकोट सहमति भएको दुई महिना पनि वित्न नपाउँदै फागुन १२ गते प्रचण्डले एमालेलाई नै सरकारबाट पाखा लगाउने गरी नयाँ आठ दलीय गठबन्धन जन्माएपछि मुलुकको राजनीति प्रचण्ड जस्तै थप अस्थिर बनेको छ ।