समावेशीका दृष्टिले पनि नेम्वाङ राष्ट्रपतिका लागि उपयुक्त पात्र, यस्तो छ जितको संभावना

काठमाडौं, १५ फागुन । २०७९ पुस १० गते नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा संसदमा प्रतिनिधित्व गर्ने एमाले, माओवादी, रास्वपा, जसपालगायतका दलको बैठकले तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको थियो । त्यहि बैठकले राष्ट्रपति र सभामुख एमालेलाई दिने सहमति गरेको थियो ।
तर, पुस १० गते भएको सहमतिबाट पछि हट्दै माओवादीले नयाँ गठबन्धनसहित कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेपछि मुलुकको राजनीति फेरि नयाँ चरणमा प्रवेश गरेको छ ।
फागुन १३ गते राष्ट्रपति पदमा कांग्रेसले आफ्नो तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ भने माओवादीलगायतका केही दलले कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने बताउँदै आएका छन् ।
यता एमालेले पनि पुस १० मा भएको सहमति अनुसार उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णयसहित अहिले मैदानमा छ । सत्ता साझेदार दलहरूबीच वर्तमान सरकार गठनको समयमा गत २०७९ पुस १० गते भएको सहमति बमोजिम पार्टीले राष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णय गरेको बताएको छ । त्यति मात्रै होइन एमालेले पार्टीका उम्मेदवारलाई विजयी बनाउन सबै राजनीतिक दलसँग सहयोगका लागि आह्वान गर्दै समर्थनका लागि पहल गर्ने निर्णय समेत गरिसकेको छ ।
संविधानसभाका पूर्व अध्यक्षसमेत रहनु भएका नेम्वाङलाई एमालेले निकै सुझबुझपूर्ण ढंगले उम्मेदवार बनाएको छ ।
राष्ट्रपति पद भनेको त्यसै पनि अभिभावकीय भूमिका निर्वाह गर्ने पद हो । त्यो पदको गरिमा बोक्न सक्ने व्यक्ति छानेर नै एमालेले राष्ट्रपति पदको उम्मेदवार बनाएपछि अहिले विस्तारै उहाँको पक्षमा माहोल सिर्जना हुन थालेको छ ।
राज्यका सर्वोच्च पद सभामुखमा अहिले देवराज घिमिरे हुनुहुन्छ । राष्ट्रियसभाको अध्यक्षमा गणेश तिमल्सेना हुनुहुन्छ । प्रधानमन्त्री पदमा पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्छ । कार्यबाहक प्रधानन्यायाधीसको जिम्मेवारीमा हरिकृष्ण कार्की हुनुहुन्छ ।
यसरी हेर्दा समावेशी सिद्धान्तको हिसावले पनि नेम्वाङ राष्ट्रपति पदका लागि सबै भन्दा उपयुक्त उम्मेदवार देखिनु हुन्छ । एमालेकै एक नेता पनि अहिले एमालेले अघि सारेको राष्ट्रपतिको उम्मेदवार हरेक हिवावले योग्य रहेको दाबी गर्नुहुन्छ । ‘उहाँ संविधानसभाको पूर्व अध्यक्ष हो । त्यसकारण उहाँले मुलुकको कानुलाई निकै राम्ररी बुझ्नु भएको छ,’ उहाँले भन्नुभयो, ‘त्यति मात्रै होइन समावेशी सिद्धान्तलाई मान्ने हो भने पनि उहाँ राष्ट्रपतिका लागि योग्य व्यक्ति हो ।’
राष्ट्रपति पदको इतिहासलाई हेर्ने हो भने पनि संस्थापक राष्ट्रपतिको जिममेवारीमा डाक्टर रामबरण यादव हुनुहुन्थ्यो । उहाँ मधेसी समूदायको हुनुहुन्थ्यो । दोस्रो राष्ट्रपतिका रुपमा विद्यादेवी भण्डारी निर्वाचित हुनुभयो । उहाँ महिला हुनुहुन्थ्यो । त्यसकारण तेस्रो राष्ट्रपति समावेशी हिसावले समेत नेम्वाङ नै उपयुक्त हुने धेरैको मत छ ।
‘आदिवासी जनजाति, दलित, उत्पीडितलगायको मुक्तिका लागि आन्दोलन गरेका हौँ भन्ने माओवादीले साच्चिकै आफूले भन्दै आएको कुरालाई लागु गर्ने हो भने नेम्वाङलाई मत हाल्नुको विकल्प देखिँदैन,’ वामपन्थी पृष्ठभूमि एक जनजाती नेता भन्नुहुन्छ,’ ‘अहिले माओवादी सत्तासमिकरणमा फरक कित्तामा होला तर, आफूलाई सामावेशी राजनीतिक चरित्र भएको दलका रुपमा स्थापित गर्ने हो भने उहाँको दलले नेम्वाङलाई मत दिनुको विकल्प देखिँदैन ।’
ती नेताले भने जस्तै राष्ट्रपतिको निर्वाचनमा माओवादीले संस्थागत निर्णय नै गरेर नेम्वाङलाई मतदान नगरे पनि क्रस भोटको संभावना रहेको देखिन्छ । माओवादी मात्रै होइन अहिले पछिल्लो गठबन्धनमा रहेको नेकपा एसले समेत अन्तिमसम्ममा राष्ट्रपतिमा नेम्वाङलाई सहयोग नगर्ला भन्ने अवस्था छैन ।
एमालेले नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अघि बढाएको थियो । तर, अन्तिम समयमा उहाँलाई एक वर्ष प्रधानमन्त्री दिने आस्वासनसहित कांग्रेस, माओवादीले गठबन्धनमा मिसाएका छन् । तर, उक्त सहमतिबारे कांग्रेस र माओवादीकै नेताहरुले बेखवर रहेको अभिव्यक्ति दिन थालेपछि नेपाल थप झस्किनु भएको छ ।
त्यति मात्रै होइन पछिल्लो समय प्रचण्डका विश्वासपात्रका रुपमा रहनु भएका डाक्टर बाबुराम भट्टराईले समेत माधव नेपाललाई १० सिटेको भागमा ६० दिने प्रधानमन्त्री भन्दै ट्वीटमार्फत व्यंग्य गरेपछि नेपालले आफूलाई आठ दलभित्रै हिनताबोध महशुस गर्न थालेको बुझिएको छ । जसका कारण नेपाल अन्तिम समयमा नेम्वाङकै पक्षमा खुल्न सक्ने वा मतदान गर्ने सम्भावनालाई पनि नकार्न मिल्ने अवस्था देखिँदैन ।
राष्ट्रपतिको निर्वाचनमा बहुमतका लागि २६ हजार ३ सय ५४ आवश्यक हुन्छ । दोस्रो दलको हैसियतमा रहेको एमालेसँग १५ हजार २ सय ३३ मतभार छ । एमालेको तर्फका उम्मेदवारलाई विजयी बनाउन करीब ११ हजार मतभार एमालेले आफ्नो पक्षमा ल्याउनु पर्ने हुन्छ ।
अहिले आठ दलनै गठबन्धनमा रहेकाले सरसर्ती हेर्दा संभव जस्तो नदेखिएला । तर, राष्ट्रपति पदमा गोप्य मतदान हुने भएकाले भोट क्रस हुने संभावना बलियो हुन्छ । त्योसँगै प्रचण्डको अस्थिर चरित्रका कारण अन्तिमसम्म समीकरणमा हेरफेर नहोला भन्ने अवस्था पनि देखिन्न । त्योसँगै समावेशी सिद्धान्तका हिसावले पनि नेम्वाङ उपयुक्त पात्र भएकाले अन्तिमसम्ममा नेम्वाङ राष्ट्रपति पदमा विजयी हुनसक्ने संभावनालाई नकार्न मिल्ने अवस्था छैन ।