राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारले चुनावी खर्च अधिकतम ४ लाख भित्र गर्नुपर्ने

काठमाडौं, १६ फागुन । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारले निर्वाचन आयाेगले ताेकेकाे अधिकतम ४ लाख रूपैयाँ भित्र गर्न पाइने भएकाे छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ६२ मा मनोनयनपत्र दर्तादेखि परिणाम घोषणासम्मको अवधिमा उम्मेदवारले गर्ने खर्चको सीमा सम्बन्धी व्यवस्था गरेकाे छ । त्यस व्यवस्था अनुसार उम्मेदवारले अधिकतम चार लाखसम्म खर्च गर्न पाउँछन् ।
निर्वाचन आयोगका अनुसार अन्तिम नामावली प्रकाशन भएपछि राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारहरुले प्रचारप्रसार गर्न पाउँछन् । तर, उनीहरुलाई चुनावी खर्चको सीमा तोकिएको छ ।
तोकिएको सीमा अनुसार सवारी साधनमा र गोष्ठी तथा अन्तरक्रियामा १/१ लाख खर्च गर्न पाइने छ । कार्यालय सञ्चालनमा ६० हजार, प्रतिनिधि परिचालनमा ४० हजार, विविधमा २४ हजार, सवारी इन्धन, प्रचार प्रसार सामग्री, अन्य प्रचार प्रसार, छापा एवम् विद्युतीय माध्यममा २०/२० हजार, ढुवानीमा १५ हजार र मतदाता नामावली खरिदमा १ हजार खर्च गर्न पाइनेछ ।
चुनावको नतिजा घोषणा भएको ३० दिनभित्र उम्मेदवारले निर्वाचन आयोगमा खर्च विवरण बुझाउनुपर्छ ।
आचारसंहिता अन्तर्गत मतदानको ४८ घन्टा अघिदेखि सभा, जुलुस, नाराबाजीलगायत प्रचारप्रचार गर्न नपाउने व्यवस्था छ । साउन्ड सिस्टम, एसएमएस, सामाजिक सञ्जाल तथा अन्य कुनै साधन प्रयोग गर्न नपाउने भनिएको छ । बाजा, सार्वजनिक भोज, हुलहुज्जत गर्न नपाइने, हातहतियार लिएर हिँड्न नपाइने व्यवस्था आचारसंहितामा छ । मादक पदार्थ पनि निषेध गरिएको छ ।