नेपाल आयल निगमद्वारा इन्धनको मूल्य नघटाइने

काठमाडौं, १७ फागुन । नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने भएकाे छ ।
निगमका अनुसार भारतबाट खाना पकाउने ग्याँसबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आएपनि उपभोक्ता मूल्य हाललाई यथावत राख्ने भएकाे हाे ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार हाललाई इन्धनको मूल्य यथावत राख्ने निर्णय भएको जनाएकाे छ ।
भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी) ले बुधबार इन्धनको नयाँ सूची पठाएको छ । जसअनुसार खाना पकाउने ग्याँसको मूल्य बढेको र डिजल तथा पेट्रोलको घटेर प्राप्त भएको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार निगमलाई डिजलको लागत ५ रुपैयाँ ५ पैसाले सस्तो भएर आएको छ । यस्तै पेट्रोलमा १ रुपैयाँ २१ पैसा लागत घटेको निगमले जनाएको छ । निगमलाई मट्टीतेलमा ३ रुपैयाँ ४० पैसाले लागत घटेको र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसाले लागत घटेको छ ।
पछिल्लो मूल्यपछि पनि निगमलाई १५ दिनमा ४४ करोड रुपैयाँ नाफा छ ।