रामपुरमा पन्ध्र शय्याको आयुर्वेद अस्पताल निर्माण

पाल्पा, १८ फागुन । पाल्पाकाे रामपुरलाई स्वास्थ्य क्षेत्रमा व्यवस्थित, भरपर्दो र दिगो बनाउने उद्देश्यले यहाँ स्वास्थ्य संरचना बनाउन थालिएको छ ।

पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर (नवलपरासी सुस्ता पूर्व) को केन्द्रमा रहेको रामपुरमा आयुर्वेद स्वास्थ्य सेवालाई विस्तार गर्ने उद्देश्यले स्वास्थ्य संरचना निर्माण गरिएको हो ।

जिल्लामा पन्ध्र शय्याको आयुर्वेद तथा प्राकृतिक अस्पताल निर्माण गरिएपछि यहाँका नागरिक उत्साहित भएका छन् । दाङको बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय पछि यो अस्पताल लुम्बिनी प्रदेशकै दोस्रो ठूलो आयुर्वेद अस्पताल हो ।

गत माघमा अस्पताल निर्माण गरिएपछि फागुन पहिलो हप्ता निर्माण कम्पनीले स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । अस्पताल सञ्चालनमा आएपछि यहाँका नागरिक लाभान्वित हुने स्थानीय शङ्कर भण्डारीले बताउनुभयो ।

“अस्पतालको संरचना व्यवस्थित छ, अब स्थानीय, प्रदेश र सङ्घीय सरकारमार्फत विशेषज्ञसहितको दरबन्दी, उपकरण तथा औषधिलगायत सामाग्रीको व्यवस्था गरी सेवा दिनुपर्छ”, उहाँले भन्नुभयो ।

आयुर्वेद उपचार पद्दतिलाई विस्तार गर्न रामपुर नगरपालिका–५ स्थित आयुर्वेद औषधालयको भवनलाई स्तरोन्नति गरी १५ शय्याको भवन निर्माणका लागि सङ्घीय सरकारको भवन निर्माण शिर्षकअन्तर्गत रू नौ करोड ५४ लाख ८७ हजार ४८ को लागतमा ठेक्का सम्झौता भएको थियो । रु एघार करोड ३३ लाख ४९ हजार ९३को लागतमा निर्माण गरिएको रामपुर नगरपालिकाका आयुर्वेद शाखा प्रमुख कविराज चेमनप्रकाश पोखरेलले जानकारी दिनुभयो ।

उहाँले आयुर्वेदिक उपचार पद्दतिमा नागरिकको आकर्षण बढ्दै गएको बताउनुभयो । शाखाप्रमुख पोखरेलका अनुसार आयुर्वेदिक औषधालयमा दैनिक २५ देखि ५० बिरामी आउने गरेका छन् । ।

आयुर्वेद अस्पतालमा नवौँ तह सम्मका डाक्टर, कविराज, वैद्य, प्राविधिक, कार्यालय सहयोगीसहितले सेवा प्रदान गर्नेछन् । आयुर्वेदिक तथा प्राकृतिक अस्पतालबाट पञ्चकर्म सेवा, आकस्मिक सेवा, ओपिडी, एक्सरे, ल्याबलगायत सेवा सञ्चालन गरिनेछ ।

नगरप्रमुख रमणबहादुर थापाले सुविधा सम्पन्न भवन प्राप्त भए पनि यसको व्यवस्थापन, संरक्षण र सञ्चालनमा चुनौती रहेकाले सरोकारवालासँग छलफल र समन्वय गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो ।

पालिकाभित्र आन्तरिक स्रोतको अभावका कारण अस्पताल सञ्चालनमा चुनौती भएकाले १५ शय्याबाट २५ शय्यामा स्तरोन्नती गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नाको विकल्प रहेको उहाँको भनाइ थियो ।

लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले निर्माण सम्पन्न गर्नु मात्रै उपलब्धि नभई यसको सही सदुपयोग गर्न सके मात्रै स्थानीय तहका लागि उपलब्धि हुने बताउनुभयो । उहाँले यस पद्दतिले मानव स्वास्थ्यमा असर नगर्ने भएकाले आयुर्वेद उपचार थप प्रभावकारी बनाउन सारेकारवाला सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुुभयो ।

विसं २०१७ मा पाल्पामा आयुर्वेद औषधालय स्थापना भएपछि यहाँका नागरिकले सरकारीस्तरको स्वास्थ्य सेवा पाएका थिए । उक्त अस्पताल विसं २०२९ मा अञ्चल आयुर्वेद औषधालयका रुपमा परिणत भई सेवा दिन थालेको थियो ।

अञ्चल कार्यालयको सदरमुकाम बुटवलमा राख्ने तत्कालीन सरकारको निर्णयपछि २०४३ माघ ६ मा बुटवलमा स्थानान्तरण गरिएको थियो । यो सरकारी क्षेत्रबाट स्थापना भएको पहिलो आयुर्वेद औषधालय हो । उक्त औषधालयलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनेपछि नागरिकले अब सहज स्वास्थ्योपचार पाउनेमा यहाँका स्थानीयवासी ढुक्क छन् ।

तानसेनमा पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र छ भने रामपुर नगरपालिकाभित्र दुईवटा रामपुर आयुर्वेद र गाँडाकोट आयुर्वेद औषधालय छन् । रैनादेवी छहरा, रिब्दिकोट, बगनासकाली, माथागढी र पूर्वखोला गाउँपालिकामा भने एक/एक आयुर्वेद औषधालय छन् ।