महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन सकेन : सभामुख घिमिरे

काठमाडौं, १९ फागुन । सभामुख देवराज घिमिरेले महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेकाे बताएका छन् ।

शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित मिडियामा महिलाका विचार विषयक गोष्ठीमा सभामुख घिमिरेले संसद र अन्य संघसंस्थामा पनि महिलाहरुको सक्रियता र सहभागिता बढिरहे पनि सञ्चार माध्यमले त्यस अनुसार प्रचारप्रसार नगरेको बताएका हुन् ।

आफू सभामुख भइसकेपछिका संसद बैठकमा धेरै महिला सांसदले शून्य र विशेष समयमा सक्रियता र सहभागिता उल्लेख्य देखाए पनि सञ्चारमाध्यमले प्रचार गर्न कन्जुस्याइँ गरेको घिमिरेको भनाइ छ ।

सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले नेताहरु र शीर्षकमा केन्द्रित नभई विषयवस्तुमा केन्द्रित भएर समाचार प्रकाशन र प्रशारण गर्नुपर्नेमा जोड समेत दिए ।