स्वदेशमै रोजगारीका अवसर सिर्जनाका लागि के गर्नुपर्छ– यस्तो छ सरोकारवालाहरुको सुझाव

काठमाडौं, १८ फागुन। राष्ट्रिय योजना आयोगका कार्यवहाक अध्यक्ष डा. रामकुमार फुँयालले नेपालको अर्थतन्त्रलाई रुपान्तरण गर्ने गरी अगाडि बढिरहेको वताउनु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहकार्यमा तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज राजधानीमा गरेको ‘नेपालमा प्राविधिक शिक्षाको अवस्था, रोजगार सिर्जनामा सञ्चारक्षेत्रले खेल्न सक्ने भूमिका’ विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो ताउनुभएको हो ।
उहाँले नेपाल सरकार सामाजिक–आर्थिक रुपान्तरणसहित समतामूलक, लोककल्याणकारी, न्यायपूर्ण र समावेशी समाज निर्माणको अभियानमा जुटेको वताउनु भयो । ‘राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि बजेट सिलिङ तयार गरेका छौं,’ उहाँले भन्नुभयो, ‘जसमा बजेटको आकार घटाइएको भएपनि आगामी आर्थिक वर्ष २०८०–८१ लागि तयार भएको बजेटमा उत्पादन, रोजगारी सिर्जना र उद्यमशिलतालाई केन्द्रित गरिएको छ ।’
श्रम बजारमा हरेक वर्ष ५ लाख मानिस बाहिर जाने गरेको भन्दै उहाँले ती मानिसहरुलाई कसरी व्यवस्था गर्ने भन्ने विषयमा केन्द्रित हुनुपर्ने उहाँको भनाई थियो । श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थित गराउन सरकारका अन्तरमन्त्रालयबीच समन्वयकारी भूमिका प्रभावकारी रहनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले डिजिटल प्लेटफर्म रोजगार बैंकको स्थापना गरी रोजगारदाता र श्रमिकलाई जोड्ने काममा मन्त्रालय लागि परेको वताउनुभयो । पछिल्लो समय रोजगारदाता र श्रमिकबीच सम्पर्क हुन नसक्दा श्रमिकले काम पाउन नसकेको र रोजगारदाताले श्रमिक पाउन नसकेको अवस्था विद्यमान रहेको भन्दै रोजगार बैंकको स्थापनासँगै यो समस्या समाधान हुने सचिव अर्यालले दाबी गर्नुभयो ।
सरकार र विभिन्न निकायहरुले प्रदान गर्ने तालिम प्रभावकारी र व्यवस्थित हुन नसकेको वताउनुभयो । ‘स्थानीय सरकार र प्रदेश सरकारहरुले समेत तालिम दिईरहेको छ । खर्चको हिसाब हेर्दा निकै नै बढी खर्च भइरहेको देखिएको छ,’ उहाँले भन्नुभयो, ‘तर, यहाँनेर थुप्रै कमजोरीहरु भेटिएका छन् । एउटै मानिसले पटक–पटक तालिम लिइरहेका छन् । धेरै तालिम लिएर मात्र विज्ञता बढ्दैन । झन् जिरो स्केल अर्थात मानइसतिर जाने गर्दछ ।’
उहाँले दैनिक २ हजार ५ सयको हाराहारीमा मानिसहरु श्रमका लागि विदेशिने गरेको तितो यथार्थ रहको भन्दै त्यो रहर नभएर बाध्यता भएको बताउनुभयो । ‘विदेशिने बाध्यता न स्वयम् व्यक्तिको हो न राज्यको । तर मानिसहरु बढी अवसरको खोजीमा हुन्छ,’ उहाँले भन्नुभयो, ‘बढी आम्दानीको आशामा मानिसहरु विदेशिने गरेका छन् । हामीले रोजगारीका अवसर स्वदेशमै सिर्जना गर्नुपर्छ । उहाँले मन्त्रालयले सञ्चालनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिताको बारेमा जानकारी गराउनुभएको थियो ।
सचिब अर्यालले बेलायत सरकारले दसौं हजार दक्ष नर्सिङ जनशक्तिको माग गरिरहेको छ तर हाम्रो नर्सिङ कलेजहरु बन्द छन यो राम्रो होइन तत्काल नै बन्द नर्सिङ कलेजहरु सुचारु गर्ने वातावरण बनाउनुपर्ने सुझाव दिनुभयो ।
शिक्षा सचिव रामकृष्ण सुवेदीले स्वदेशमा भएका प्राविधिक जनशक्तिलाई नेपालमै रोजगारी दिनुपर्नेमा जोड दिनुभयो । नेपाल सरकारले लगानी गरेर उत्पादन गरेका जनशक्तिलाई हामीले विदेश जान उत्प्रेरित गरिरहेका छौं । यो किन भईरहेको छ भन्ने गम्भीर प्रश्न गर्नुभयो । त्यसैगरी कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उत्पादन भएका जनशक्तिलाई समेत नेपालमै रोजगारी दिन नसकिएको बताउनुभयो । उहाँले रेमिट्यान्स अन्तिम विकल्प भएको भन्दै स्वदेशमा उत्पादन भएका जनशक्तिलाई स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमहरुलाई सत्य, तथ्यमा आधारित भई पत्रकारिता गर्न आग्रह गर्नुभयो । अन्य क्षेत्रमा अटाउन वा प्रवेश गर्न नसकेपछि सञ्चारकर्मी बन्ने गरेको भन्दै अब त्यस्ता कार्य निरुत्साहित हुने जिकिर गर्नुभयो । ‘पत्रकारिताको ‘प’ थाहा नभएका व्यक्ति पत्रकार बन्ने, अन्य पेशामा नटिकेकाहरु पत्रकार बन्ने कामलाई प्रेस काउन्सिलले निरुत्साहित गर्दछ,’ उहाँले भन्नुभयो ।
सिटिईभिटीका सदस्यसचिव जीवनारायण काफ्लेले कानुनले निर्दिष्ट गरेका विषयहरुमा प्रतिवद्ध भई सिटिईभिटीले काम कारबाही अगाडि बढाएको बताउनुभयो । उहाँले मुलुकमा रहेका ७५३ वटै स्थानीय तहहरुमा प्राविधिक शिक्षा पु¥याउने कार्य भईरहेको जानकारी गराउनुभयो । यहाँले प्राविधिक शिक्षा रोजगारी सिर्जना र उत्पादमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सूचना तथा प्रविधि मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदी, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी, बैदेशिक रोजगार विभागका महानिर्देशक, उमाकान्त आचार्य राष्ट्रिय चिकित्सा शिक्षा आयोगका सदस्य सचिव भोजराज काफ्ले लगायतले मन्तव्य राख्नुभएको थियो ।
साथै फोरम फर हेल्ड एण्ड टेक्निकल साइन्सका महासचिव निर्मल सापकोटाले विषयबस्तुमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द प्रसाद चौलागाईंले गर्नुभएको थियो ।