प्रचण्डसँग छलछाम र स्वार्थ बाहेक केही छैनः ओली

काठमाडौं, २२ फागुन । नेकपा (एमाले) अध्यक्ष शर्मा ओलीले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्षले छली कुरा बाहेक अरु नजानेको टिप्पणी गर्नुभएको छ । आज एमाले मुख्यालयमा राष्ट्रपतिको निर्वाचनको लागि नेकपा (एमाले) का प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभा सांसदहरूलाई प्रशिक्षण दिदैँ यस्तो बताउनु भएको हो ।

‘एक जना नेपालको नेता हुनुहुन्छ । पुस १० गते भएको सहमति तोड्नुभयो । सहमति तोडेर राष्ट्रिय सहमति रटान लगाइरहनु भएको छ,’ प्रचण्डप्रति लक्षित गर्दै ओलीले भन्नुभयो, ‘भएको सहमति तोडेर राष्ट्रिय सहमति हुन्छ ? कस्तो छलि कुरा ? राष्ट्रिय सहमति तोड्ने अनि राष्ट्रिय सहमतिको रट लगाएको लगाएकै गर्ने ? म त्यस पार्टीका कार्यकर्ता र माननीयहरुलाई भन्न चाहन्छु । एउटा व्यक्तिको स्वार्थ र छलछामको पछि तपाईँहरु नलाग्नुहोस् ।’

प्रचण्डले हिजो एउटा परिवर्तनको सपना देखाएर धेरै क्षति गरेको आरोप पनि ओलीले लगाउनुभयो । ‘अहिले पनि अनेक प्रकारका चटक देखाएर मान्ने अल्मल्याउने कोशिसमा उहाँ हुनुहुन्छ,’ ओलीले भन्नुभयो, ‘तपाईँहरु त्यो चटकबाट उम्किुनहोस् । तपाईंहरु बलिदानको पृष्ठभूमिबाट आउनु भएको छ । नेकपा (एमाले)ले उपयुक्त पात्रलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । सबै पार्टीलाई आग्रह गर्न चाहन्छु । उपयुक्त पात्रलाई राष्ट्रपति बनाउन भूमिका खेल्नुहोस् ।’

उहाँले अब पनि सचेत नहुने हो भने देश अप्ठ्यारोमा पुग्ने चेतावनी पनि दिनुभयो । ‘अहिले तपाईँहरुले विवेक पुर्याउनु भएन भने सच्याउन नसक्ने ठाउँमा मुलुक पुग्नेछ,’ उहाँले भन्नुभयो, ‘माननीयज्युहरुलाई आग्रह गर्न चाहन्छु । अब सकारात्मक सोँच र तथाकथित घेरा भन्दा माथि उठेर गुण–दोषको आधारमा, योग्यताको आधारमा जिम्मेवारी दिने कुरामा तपाईँहरु सचेत हुनुहोस् ।’

उहाँले राष्ट्रपति संविधानको रक्षक र पालक भएको भन्दै गुण–दोषका आधारमा, क्षमताका आधारमा, संविधानप्रति, लोकतन्त्रप्रति प्रतिवद्धताका आधारमा छनोट गर्नुपर्ने बताउनुभयो । ‘म सम्पूर्ण नेपाली जनतालाई अपिल गर्न चाहन्छु,’ उहाँले भन्नुभयो, ‘एमालेले दिएको उम्मेदवार बाहेक यस्तो उम्मेदवार अरु छैन । गुण–दोषका आधारमा, क्षमताका आधारमा, संविधानप्रति, लोकतन्त्रप्रति प्रतिवद्धताका आधारमा उम्मेदवार छनोट गर्ने अरु दलको नीति नै छैन ।’