प्राविधिक शिक्षा अध्ययन गर्ने विपन्न विद्यार्थीलाई भानुकाे छात्रवृत्ति
तनहुँ, २३ फागुन । तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा प्राविधिक शिक्षा अध्ययन गर्ने २४ विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ ।
नगरपालिकाभित्र सञ्चालित प्राविधिक शिक्षालयमा तीन वर्षे प्राविधिक शिक्षा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई यस्तो छात्रवृत्ति उपलब्घ गराइने भएकाे हाे।
नगरपालिकाका शिक्षा शाखा प्रमुख धुर्वराज पौडेलले हरेक वडाका दुई/दुई विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराउने बताए । “प्राविधिक शिक्षाको माध्यमबाट दक्ष जनशक्ति बनेर स्वरोजगार एवं आत्मनिर्भर बन्न सकुन् भनेर प्रोत्साहन स्वरुप छात्रवृत्ति वितरण गर्ने नीति ल्याइएको हो”, उनले भने ।
नगरपालिकाले प्राविधिक शिक्षा छात्रवृत्ति वितरण कार्यविधि २०७९ जारी गरिसकेको छ । कार्यविधि बमोजिम तीनवर्षे प्राविधिक कोर्स अध्ययन गर्ने विद्यार्थीका लागि प्रतिवर्ष रु ५० हजारका दरले तीन वर्षमा रु एक लाख ५० हजार प्रदान गरिनेछ ।
छात्रवृत्ति प्राप्त गर्नका लागि चालु आवमा २४ विद्यार्थी छनोट भएका छन् । भानु नगरपालिका–२ नारेश्वरटारस्थित होमराज लोहनी शारदा शिक्षा सदन माविमा डिप्लोामा इन सिभिल इञ्जिनियरिङ अध्ययनरत उज्ज्वल पौडेल, ईश्वरी थापा, कमला तिमिल्सिना, कृषा तामाङ, रोजिना नेपाली, आशिष राना मगर, नरेश बोटे, अनिल कँडेल, विशाल कुमाल, विकास अधिकारी, सन्तोष तिवारी, आयुष गुरुङ, अभिषेक नेपाली, रोशनी तामाङ र सन्दिप शाहीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।
भानु –११ मानेचौकास्थित त्रिभुवन माध्यमिक विद्यालयमा डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान र पशु विज्ञान) अध्ययनरत वर्षा कुंवर, कुशल अधिकारी, अस्मिता अधिकारी, सुशान परियार, मुस्कान देवकोटा, आशिका गुरुङ, सन्देश थापा, भूमिका सुनार र श्रीजल पण्डितलाई छात्रवृत्ति प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
प्राविधिक शिक्षा आजको आवश्यकता भएकाले विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउन उक्त निर्णय गरिएको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । “शिक्षालाई रोजगारसँग जोड्न प्राविधिक शिक्षा अध्ययन गरिरहेका विपन्न, जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृत्ति रकम उपलब्ध गराउँछौँ”, उहाँले भन्नुभयो, “यसले प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सकिन्छ ।” प्रत्येक वडा समितिले एक जना छात्र र एक जना छात्रालाई छात्रवृत्तिका लागि सिफारिस गर्ने प्रावधान राखिएको छ ।