अमेरिकाबाट पठाएको पार्सलसहित ३ जना पक्राउ

काठमाडौं, २४ फागुन । अमेरिकाबाट पठाएको पार्सल भित्र गाँजा भेटिएपछि लागुऔषध नियन्त्रण ब्यूरोले पार्सल बुझ्न आएका ३ जनालाई पक्राउ गरेका छन् ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार उक्त पार्सल बुझ्न आउने ३ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारत गुजरातका ३० वर्षका निमेश अशोकभाइ दयानी र सर्लाहीको हरिहरपुर नगरपालिका ३ का फैज आलम रहेका छन् । यस्तै उक्त पार्सल बुझ्ने गोरखाको गण्डकी गाउँपालिका ४ का २३ वर्षका रुपक अर्याललाई पनि पक्राउ गरिएको ब्यूरोका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
उनका अनुसार प्रहरीले भारतीय नागरिक निमेशको साथबाट १ लाख ४० हजार भारतीय रुपैयाँ र सर्लाहीका फैज आलमको साथबाट ८० हजार रुपैयाँसमेत बरामद गरेको छ ।