एमालेबाट उपराष्ट्रपतिको उम्मेदवारमा अष्टलक्ष्मी

काठमाडौं, २७ फागुन । नेकपा (एमाले) उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिवार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । उपराष्ट्रपति पदका लागि आज निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय दिएको छ । सोही अनुसार एमालेले आफ्नो उम्मेदवार तयार गरेको हो ।

गाउँपालिका, नगरपालिकादेखि नै अध्यक्ष– उपाध्यक्ष, प्रमुख–उपप्रमुखमध्ये एक जना महिला अघि सारेको सन्दर्भलाई लिएर राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एकजना महिला हुनुपर्ने कुरालाई अनदेखा गर्न नमिल्ने भन्दै एमालेले उपराष्ट्रपतिमा उम्मेदवार अघि सारेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँले पुरुषलाई नै दुई वटै पदमा उठाउने कुरा संविधान विपरित हुने पनि बताउनुभयो ।

‘चैत्र ३ गते हुने उपराष्ट्रपतिका लागि पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘हामीले तल गाउँपालिका, नगरपालिकादेखि नै अध्यक्ष–उपाध्यक्ष, प्रमुख– उपप्रमुखमध्ये एक जना महिला अघि सारेका छौँ । पुरुषलाई नै दुई वटैमा उठाउने कुरा संविधानविपरितको कुरा हो । त्यसो गर्न मिल्दैन ।’