आफ्नै काकाले बोकेको बन्दुकबाट भतिजाको मृत्यु
सल्यान, ३० फागुन । सल्यानमा आफ्नै काकाले बोकेको बन्दुकबाट भतिजाको मृत्यु भएकाे छ ।
सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका–९ स्वाराका ४० वर्षीय आईते रावतले बोकेको भरुवा बन्दुक पड्किँदा उनका भतिजा १६ वर्षीय चित्रबहादुर रावतको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार काका–भतिजा सोमबार बेलुका सिकार खेल्न भनेर भरुवा बन्दुकसहित नजिकैको बाहुनडाँडा जंगलमा गएका थिए। आईते रावतले बोकेको उक्त बन्दुक पड्किँदा चित्रबहादुरको पेट र घाँटीमा गोली लागेको थियो।
काका–भतिजा सोमबार बेलुका सिकार खेल्न जाँदा अन्दाजी ५ बजेतिर उक्त घटना भएको थियो। घटना लगत्तै चित्रबहादुरलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लैजाँदै गर्दा बाटोमा मृत्यु भएको सल्यानका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए।
घटनापछि फरार भएका काका नाता पर्ने आईते रावतलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिइ घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
