स्रोत नखुलेको झन्डै १० लाख भारतीय रूपैयाँसहित एक जना पक्राउ

महोत्तरी, २ चैत्र । महोत्तरीकाे जलेश्वरबाट स्रोत नखुलेको झन्डै १० लाख भारतीय रूपैयाँसहित एक जना पक्राउ परेका छन् ।

जलेश्वर नगरपालिका-३ बाट स्रोत नखुलेको भारतीय रूपैयाँ ९ लाख ९८ हजार ३ सयसहित जलेश्वर नगरपालिका-३ बस्ने २९ वर्षीय बिमलेश पाण्डेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.४ प ७०३४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक पाण्डेको साथबाट उक्त भारतीय रूपैयाँ फेला पारी पक्राउ गरेको प्रहरिले जनाएकाे छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।