सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक हतारमा पास गर्नुहुँदैनः एमाले

काठमाडौं, ४ चैत । नेकपा (एमाले) ले प्रमुख प्रतिपक्षको रुपमा आफूहरुको सिट व्यवस्थापन हुनुपर्ने माग गरेको छ । शनिबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँगको छलफलमा उहाँले यस्तो माग राख्नु भएको हो ।

सभामुखले संसदीय दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलमा यस्तो माग राखेको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो । ‘छलफलमा प्रमुख प्रतिपक्षको रुपमा आफूहरुको सिट व्यवस्थापन हुनुपर्ने माग गरेका छौँ,’ गिरीले भन्नुभयो, ‘ सो विषयमा आइतबार साढे १० बजे काँग्रेसले बैठक बसेर यस बारेमा आफ्नो धारणा राख्ने काँग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउनु भयो ।’

त्यसैगरी सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक संसदीय समितिमा पठाएर छलफल गर्नुपर्ने माग पनि आफूहरुले राखेको गिरीले जानकारी दिनुभयो । संसदमा पेस भइसकेपछि संसदमा विभिन्न ढंगले विधेयकमा छलफल हुने र संशोधन हुने गिरीले जानकारी दिनुभयो । ‘यसलाई टुंगोमा पु¥याउन भने संसदीय समितिमा नै छलफल गर्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो, ‘विधेयकमा अन्तर्राष्ट्रिय समुदायले नियालिरहेको छ । संसदबाट हतारका साथ पारित गरेर जानु हुँदैन ।’

पेस भइसकेपछि यसमा विभिन्न ढंगले छलफल हुने र संशोधन हुने उहाँले बताउनुभयो । प्रमुख सचेतक गिरीले आइतवार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावली पेस गर्ने सहमति भएको बताउनुभयो । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बेपत्ता पारिएका व्यक्ति र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक कुनै एक राजनीतिक दलको मात्रै विषय वस्तु नरहेको बताउनुभयो ।