प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
काठमाडौं, ६ चैत्र । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै छन् ।
नेकपा एमालेसहितका दलले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा आज विश्वासको मत लिन लागेका हुन ।
प्रधानमन्त्री प्रचण्डलाई आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विश्वासको मत दिने जनाए पछि दलको संख्या ११ पुगेको छ ।
१० दलीय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी, स्वतन्त्र सांसद अमरेश सिंहलगायतले विश्वासको मत दिने जनाएका छन् भने गठबन्धन बाहिरको रास्वपाले पनि आइतबार विश्वासको मत दिने निर्णय गरिसकेको छ ।
यसैगरी, नेकपा एमाले, राप्रपा र नेमकिपाले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारेमा कुनै निर्णय लिएको छैन ।
संविधानको धारा १०० (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ ।
यसअघि एमालेकाे समर्थनमा १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा विश्वासकाे मत लिएका थिए ।