१४१ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

पर्सा, ६ चैत्र । वीरगञ्जको सीमा क्षेत्रबाट भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका-१६ स्थित इनर्वाबाट एक सय ४१ किलो गाँजासहित पक्राउ गरेका भारत विहार पूर्वी चम्पारण मोतिहारीको लक्ष्मीपुर निवासी २७ वर्षीय ओमप्रकाश सिंहलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

विआर ०६ जि ऐ ९६९१ नम्बरको मिनि ट्रकमा गाँजा लुकाइ भारततर्फ लैजाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

इनर्वागाउँस्थित धर्मकाँटा अगाडि रोकिराखिएको भारतीय ट्रकलाई नियन्त्रणमा लिई जाँच गर्दा गाँजा भेटिएको थियो ।