कपिलवस्तु दरवार बाहिर भेटिएको ऐतिहासिक गजुरबारे थप अनुसन्धान

काठमाडौं, ६ चैत । सिद्धार्थ गौतम बुद्धले आफ्नो जीवनको २९ वर्ष व्यतित गर्नुभएको तिलौराकोटस्थित कपिलवस्तु दरवार क्षेत्रमा भेटिएका पुरातात्विक सामग्रीहरूको हाल थप अनुसन्धान भइरहेको छ ।

उक्त पुरातात्विक उत्खनन् कार्यमा चैत्यको सबैभन्दा माथिल्लो भागमा रहने गजुर लगायतका सामग्रीहरू भेटिएका थिए । कपिलवस्तु दरवारको पूर्वी ढोकाको ठीक बाहिरपट्टि रहेको खुल्ला स्थानमा उक्त सामग्रीहरू भेटिएको हो । सो गजुर त्यस ठाउँमा निर्माण गरिएको प्राचीन बौद्ध विहारकै अवशेष हुन सक्ने अनुमान गरिएको छ ।

सिद्धार्थ गौतमले गृहत्याग गर्दा दरवारको यही पूर्वी ढोकाबाट निस्कनुभएको थियो । सिद्धार्थ गौतमले गृहत्याग गर्नुभएको उक्त कार्यलाई बौद्ध भाषामा ‘महाभिनिष्क्रम’ भनिन्छ ।

उक्त रात उहाँ कन्थक नामक घोडा चढी वन प्रस्थान गर्नुभएको थियो । सिद्धार्थ गौतमलाई जंगलमा छोडी कन्थक एक्लै दरवार फर्केका थिए । दरवार पुगेपछि कन्थकले दरवारको पूर्वी ढोकामा प्राण त्याग गरेका थिए ।

पछि उनै कन्थक घोडाको स्मरणमा त्यहाँ चैत्य निर्माण गरिएको थियो । बौद्ध ग्रन्थहरूमा उक्त चैत्य र त्यहाँ निर्माण गरिएको विहारका बारेमा उल्लेख गरिएको भए पनि चैत्य निर्माणको समय भने थाहा हुन सकेको छैन ।

अहिले भेटिएको गजुर कन्थक घोडाको नाममा बनाइएको सोही चैत्यको अवशेष हुन सक्ने अनुमान गरिएको छ । सो ठाउँमा तत्कालीन पोखरीको अवशेष लगायत माटाका केही मूर्ति र मुखौटाहरू पनि भेटिएका छन् ।

सो ठाउँमा हाल बेलायतको दूरहाम विश्वविद्यालयको सहयोगमा नेपालको पुरातत्व विभाग र लुम्बिनी विकास कोष समेत मिली पुरातात्विक उत्खनन् हुँदै आइरहेको हो ।
अहिले भेटिएका यी पुरातात्विक सामग्रीहरू दूरहाम विश्वविद्यालयको लुम्बिनीस्थित कार्यालयमा राखी थप परीक्षण भइरहेको छ ।

यी सामग्रीहरूले गौतम बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताउनुभएको कपिलवस्तु दरवार नेपाल भित्रै रहेको सत्यलाई पुष्टि गर्न अझ ठूलो टेवा दिने बताइएको छ ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले यी सामग्रीहरू भेटिनु नेपालकै लागि ठूलो उपलब्धी रहेको बताउनुभएको छ ।

उहाँ भन्नुहुन्छ, ‘कपिलवस्तु दरवार भारतमा पर्छ भनी गरिरहेको एकतर्फी दावीलाई यी सामग्रीहरूले झुठ्ठा साबित गर्न अझ मद्दत गर्छ ।’