मखन टोलमा कुमारीलाई मरःजा खुवाइँदै

काठमाडौं, ७ चैत । काठमाडौंमा मनाइने ठूला पर्वहरु मध्ये एक पाहाँ चःह्रेको आज दोस्रो दिन । आज काठमाडौं र पाटनमा पाहाँ चःह्रेसम्बन्धी विभिन्न जात्राहरू सञ्चालन हुने गर्दछ ।

यसै सन्दर्भमा आज काठमाडौंको मखन टोलमा टोलका जीवित देवी श्री कुमारीलाई मरःजा खुवाउने कार्य सम्पन्न भयो । सो अवसरमा टोल छिमेकका अन्य साना बालबालिकाहरूलाई पनि मरःजा खुवाइएको थियो ।

काठमाडौंका विभिन्न टोलहरूमा पनि स्थानीय रुपमा जीवित देवी कुमारी स्थापना गरिएको हुन्छ । कामपा २४ वडास्थित मखन टोलमा पनि आफ्नै कुमारी रहेको छ । यहाँ स्थानीय ज्यापू समुदायकी कन्यालाई कुमारी बनाउने चलन छ ।

आज सोही ‘मखन कुमारी’ लाई सबैभन्दा पहिलो पंक्तिमा राखी मरःजा खुवाउने कार्य गरिएको हो ।

पाहाँ चःह्रे पर्वका बेला खुवाइने मरःजा एक प्रकारको भुजा (भात) हो । यो तान्त्रिक विधि अनुरुप पूजा गरी पकाइएको हुन्छ । यो खास गरी ब्रतबन्ध र इहि नगरिएका बालबालिकाहरूलाई खुवाउने गरिन्छ ।

चैत्र वैशाख भनेको विशेष गरी झाडा पखाला लाग्ने समय हो । मरःजा खाएमा बर्खा मौसममा लाग्न सक्ने विभिन्न रोगव्याधीले बच्चाहरूलाई छुन सक्दैन भन्ने जनविश्वास रहेको छ ।

पाहाँ चःह्रेका बेला काठमाडौंका विभिन्न टोलहरूमा मरः खुवाउने गरिन्छ । खास गरी काठमाडौंको मखन लगायत इन्द्रचोक, त्यंघः, लगन, कंकेश्वरी, भिमसेनस्थान आदि टोलमा मरः खुवाउने गरिन्छ । यस्तो मरःजा खुवाउन छुट्टै गुठीको समेत व्यवस्था गरिएको हुन्छ ।

काठमाडौंको बसन्तपुरस्थित कुमारी घरमा बस्नुहुने राजकीय कुमारीलाई पनि आजका दिन मरःजा खुवाउने गरिन्छ । उहाँलाई इन्द्रचोकमा मरःजा खुवाउने चलन छ । त्यहाँ मरःजा ग्रहण गरी उहाँ टुँडिखेलमा घोडेजात्रा नजरका लागि जाने गरिन्छ ।

मखन टोलमा मरःजा खुवाउँदै गरेका केही तस्बिरः