तिब्बती शरणार्थीलाई नागरिकता बनाइदिएको आरोपमा ५ जना पक्राउ

काठमाडौं, ८ चैत्र । तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा प्रहरीले पाँच जना पक्राउ गरेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झापाको कचनकवलका कृष्णबहादुर कटवाल, काठमाडौं बबरमहलका न्यूल्केश श्रेष्ठ, मोरङको सुन्दरहरैंचाका हिरालाल शिवाकोटी, तनहुँको शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुरको गोदावरीका विजय लामा रहेको प्रहरीले जनाएकाे छ ।

प्रहरीले उनीहरुलाई काठमाडौंको बबरमहलबाट यही चैत ५ गते पक्राउ गरेकाे थियाे । प्रहरीका अनुसार सो समूहले दर्जनौं तिब्बती शरणार्थीलाई नागरिकता बनाइदिएकाे अनुसन्धानबाट खुलेकाे छ ।

पक्राउ परेका कटवाल लामो समयदेखि लेखापढीको काम गर्दै आएको र विभिन्न व्यक्तिको नक्कली नागरिकता, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्रलगायतका सरकारी कागजात कीर्ते गर्ने गरेको प्रहरीले जनाएको छ।