बच्छलेश्वरी माईलाई भित्र छिर्न नदिएपछि पशुपतिनाथको ढोकामा खट ठोक्काइयो
काठमाडौं, ९ चैत । काठमाडौंमा धुमधामपूर्वक मनाइने पाहाँ चःह्रे जात्रा आज समाप्त हुँदैछ । अस्ति जात्रा शुरु हुँदा मन्दिरबाट बाहिर निस्केका बच्छलेश्वरी माई आज पुनः मन्दिरमै प्रवेश गरेपछि यो वर्षको पाहाँ चःह्रे विधिवत् रुपमा समाप्त हुन्छ ।
बच्छलेश्वरी माईको खटलाई अहिले चाबहिलस्थित गणेश (चन्द्रविनायक) को मन्दिर परिसरमा राखिएको छ । आज बेलुकी चाबहिलबाट बच्छलेश्वरी माईको खटलाई जात्रा गरी पशुपति लगिन्छ । र, खटले ठोकेर पशुपतिनाथको ढोका खोली भित्र प्रवेश गराइन्छ ।
बच्छलेश्वरी माईको खटलाई पशुपतिको ढोकामा किन ठोक्काइन्छ ? त्यसको पछाडि भने एउटा छुट्टै कथा रहेको पाइन्छ ।
काठमाडौंमा पाहाँ चःह्रे जात्रा बच्छलेश्वरी माईको जात्राबाटै शुरु हुन्छ । पाहाँ चःह्रे शुरु हुनुभन्दा आठ दिन अगाडि काठमाडौंको भित्री शहरमा पशुपतिनाथको खट यात्रा हुन्छ । यसलाई दुरु च्याँय् च्याँय् भनिन्छ ।
पाहाँ चःह्रे शुरु हुँदैछ, त्यसैले घरमा नखत्या आउनु है भनेर छोरीहरूलाई निम्तो दिन पशुपतिनाथको त्यो खट जात्रा गरिएको थियो । छोरीहरूलाई नखत्याको निम्तो गर्न पशुपतिनाथलाई काठमाडौंको भित्री नगरमा बच्छलेश्वरी माईले नै खटाएका थिए ।
काठमाडौंमा स्थापित आठै जना अजिमाहरू यी नै पशुपतिनाथ र बच्छलेश्वरी माईका छोरीहरू हुन् ।
त्यसपछि पाहाँ चःह्रेका दिन जात्रा शुरु हुन्छ । पाहाँ चःह्रेमा तीन दिनसम्म काठमाडौंको असन, तेबहाल, कंकेश्वरी, यटखा, वटु, टुँडिखेल आदि जस्ता भित्री शहरमा विभिन्न अजिमाहरूको खट जात्रा हुन्छ ।
काठमाडौंको भित्री शहरमा विभिन्न अजिमाहरूको जात्रा चलिरहेको बेला ग्वल देश (पशुपति क्षेत्र) मा भने बच्छलेश्वरीको जात्रा चलिरहेको हुन्छ ।
तीन दिनसम्म धुमधामपूर्वक जात्रामा सहभागी भइसकेपछि जब बच्छलेश्वरी माई घोडेजात्राका दिन आफ्नो मन्दिर प्रवेश गर्न खोज्छ, उनको लागि पशुपतिनाथ मन्दिरको ढोका बन्द हुन्छ ।
जात्रा अवधिभरि जथाभावी ठाउँमा गएर जाँडरक्सी खाएर आएकी भनेर पशुपतिनाथले पत्नी बच्छलेश्वरीका लागि ढोका खोल्दैनन् ।
ढोका नखुलेपछि बच्छलेश्वरी माईको खटले पशुपतिनाथ मन्दिरको मूलढोकामा एक पटक ड्याम्म ठोक्छ । तर पनि ढोका खोल्दैन ।
त्यसपछि बच्छलेश्वरी माई पशुपतिबाट चुपचाप फर्कन्छिन् । फर्केर उनी जयबागेश्वरी मन्दिरमा बास बस्न पुग्छिन् ।
केही समयपछि नक्साल भगवती र चाबहिल गणेशको खट पनि जयबागेश्वरी आइपुग्छन् । नक्साल भगवती बच्छलेश्वरी माईकी छोरी हुन् भने चाबहिल गणेश छोरा हुन् ।
आफ्नी आमालाई मन्दिरको ढोका नखोली फर्काएको कुरा थाहा पाएर नक्साल भगवती रिसाउँछिन् । त्यस पछि नक्साल भगवती बाबुसँग झगडा गर्न पुग्छन् । झगडा गर्न गएको भाव स्वरुप नक्साल भगवतीको खट पनि पशुपतिनाथको मन्दिरमा लगेर ढोकामै ठोक्काउने गरिन्छ ।
नक्साल भगवतीको खटले पशुपतिनाथको मूलढोकामा ठोक्काउने यो कार्य हिजो गरिएको थियो । त्यसपछि नक्साल भगवती पुनः नक्सालमै फर्के । बच्छलेश्वरी माई चाहिँ छोरा चाबहिल गणेशको खट सँगै चाबहिल गएर बसिन् ।
हिजो चाबहिल गणेशथानमा आएर बसेकी बच्छलेश्वरी माई आज भने पुनः आफ्नै घर फर्कने छन् । आज बेलुकी घर फर्कने क्रममा उनको रथलाई फेरि एकपटक पशुपतिको मूलढोकामा ठोक्काइन्छ । आज भने ढोका सजिलै खोलिन्छ । ढोका खोलेपछि बच्छलेश्वरी माई भित्र प्रवेश हुन्छ । बच्छेलेश्वरी माईको मन्दिर प्रदेश सँगै यो वर्षको पाहाँ चःहे जात्रा पनि विधिवत रुपमा समाप्त हुन्छ ।
यसरी पशुपति क्षेत्रबाट शुरु भएको पाहाँ चःह्रे जात्रा पशुपति क्षेत्रमै समापन हुन्छ ।
जात्रामा पनि ‘धोकेबाज’
हिजो नक्साल भगवतीलाई पशुपतिनाथको मन्दिरमा लिएर जाँदा मन्दिर सामू बसेर केही युवाहरूले पशुपतिनाथलाई देखाउँदै ‘धोकेबाज हौ तिमी’ भन्ने गीत गाएका थिए ।
च्छलेश्वरी माईलाई भन्दिरमा नभित्र्याएको भन्दै युवाहरूले पशुपतिनाथलाई देखाएर ‘धोकेबाज हौ तिमी…’ भनेर गाउन थालेका थिए ।
त्यस्तै केही युवाहरू ढोका छेउको बारवाला ढोकामा चढेर ‘धोकेबाज हौ तिमी’ भनेर गाइरहेका थिए ।