बागमती प्रदेशमा एमाले र गण्डकी प्रदेशमा माओवादी सरकार छाड्दै
काठमाडाैं, १० चैत्र । बागमती प्रदेशमा एमाले र गण्डकी प्रदेशमा माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
नेकपा (एमाले) बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आज बस्ने प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने कार्यक्रम तय गरेको जानकारी दिएका छन् भने उता नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवम भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले बैठक बसेर समर्थन फिर्ता लिने बताए।
बागमती प्रदेशमा गत पुस २५ गते नेकपा (एकीकृत माओवादी केन्द्र) का नेता शालिकाराम जम्कट्टेलको नेतृत्वमा एमालेसहितका पाँच दल सहभागी भएका सरकार बनाएका थिए । भने गण्डकी प्रदेशमा ८ सिटसहित तेस्रो दल माओवादी केन्द्रले २ मन्त्रीसहित नेकपा एमालेका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी भएका थिए ।
बागमती प्रदेश सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी यसअघि नै सरकारबाट अलग भइसकेको छ । गत फागुन १३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट राप्रपा अलग भएपछि जम्कट्टेलले फेरी विश्वासको मत लिनुपर्ने भएकाे थियाे ।
मुख्यमन्त्री जम्कट्टेलले संविधानको धारा १८८ को उपधारा (२) अनुसार आज विश्वासको मत लिनेछन् । उता गण्डकी प्रदेशसभामा माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री खगराज अधिकारीले १ महिनाभित्र संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने हुन्छ।
सरकारलाई समर्थन गरेको कुनै दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेकाे छ ।