उपनिर्वाचन

दल दर्ता गर्ने आज अन्तिम दिन, रिक्त रहेका तीनवटै क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन

काठमाडौं, १२ चैत्र । उपनिर्वाचनका लागि दल दर्ता गर्ने समय निर्वाचन आयोगले आइतबारसम्मका लागि ताेकेकाे छ।

निर्वाचन आयाेगकाे कार्यालयले दल दर्ताको समय चैत ८ गतेदेखि आज १२ गतेसम्म निर्धारण गरेकाे थियाे। उपनिर्वाचन आगामी वैशाख १० गते हुँदैछ।

आयोगका अनुसार नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम राजनीतिक दल दर्ता गर्नुपर्दछ। आयोगले चैत १६ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ।

यसैगरी, आयोगले चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, २० गते उम्मेदवारको मनोनयन दर्ता र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्नेछ।

चितवन-२, बारा-२ र तनहुँ-१ मा एकैचाेटी उपनिर्वाचन हुन लागेको हाे।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने निर्वाचित भएकाे चितवनमा नागरिकतासम्बन्धी मुद्दामा उनकाे सांसद पद गुमेपछि रिक्त रहेकाे छ भने बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका रामसहाय प्रसाद यादव चैत ३ गते उपराष्ट्रपति निर्वाचित भएपछि उनले सांसद र पार्टीबाट राजीनामा दिएका थिए।

त्यस्तै तनहुँ १ बाट निर्वाचित भएका कांग्रेस नेता रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपति निर्वाचित भएसँगै सांसद पदबाट राजीनामा दिएका थिए।