ट्रम्पले आत्मसमर्पण नगरे पक्राउ पर्न सक्ने
काठमाडौं, १७ चैत । अमेरिकाको म्यानहाट्टनस्थित एक अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध मुद्दा चलाउने निर्णय गरेपछि अमेरिकी राजनीति तरंगित हुन पुगेको छ ।
म्यानहाट्टन अदालतका बहुमत जुरीले ट्रम्प विरुद्ध मुद्दा चलाउने निर्णय गरेको हो । अमेरिकी इतिहासमा कुनै पनि बहालवाला वा भूतपूर्व राष्ट्रपतिका विरुद्ध आपराधिक मुद्दा लागेको यो नै पहिलो घटना हो ।
राष्ट्रपति ट्रम्पका विरुद्ध के के विषयमा मुद्दा चलाइने हो त्यो भने अहिले खुलाइएको छैन । उनले सन् २०१६ को चुनाव ताका एक अश्लील फिल्मका महिला कलाकार स्टोर्मी ड्यानियल्सलाई १ लाख ३० हजार डलर पैसा दिएको कुरा हालै सार्वजनिक भएको छ । उनले यो पैसा आफ्ना कानुनी सल्लाहकार माइकल कोहेन मार्फत भुक्तानी गरेका थिए ।
यो विषय सार्वजनिक हुने बित्तिकै ट्रम्पका विरुद्ध अन्य मामिलामा पनि मुद्दा चलाउने निर्णय भएको हो । ड्यानियल्सले राष्ट्रपति ट्रम्पसँग आफ्नो गोप्य सम्बन्ध गरेको बताएका छन् । तथापि त्यसको पनि पूर्ण विवरण भने आएको छैन ।
ट्रम्प अमेरिकी राष्ट्रपतिमा उम्मेदवार भएदेखि नै विभिन्न काण्डहरूमा मुछिँदै आएका छन् । आफ्नो चार वर्षे राष्ट्रपति कालमा पनि उनी विरुद्ध दुई पटक महाभियोग प्रस्ताव अघि बढाउने तयारी भएको थियो भने चुनावमा गडबड गरेको, भीडमा आक्रमण भएको जस्ता काण्डहरू भएका थिए ।
उनका यी काण्डहरूले गर्दा अमेरिकी राजनीति नै दुषित हुन पुगेको टिप्पणी अमेरिकी विश्लेषकहरूले गरेका छन् । उनका कारण अमेरिकी राजनीति तेस्रो विश्वको जस्तो अवस्थामा पुगेको भन्दै विश्लेषकहरूले भन्न थालेका छन्– ट्रम्प आएदेखि अमेरिकी राजनीति निरन्तर खस्किरहेको छ ।
सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा ट्रम्प फेरि उठ्ने चर्चा चलिरहेको छ । तर अहिले उनीमाथि लागेको आरोपका आधारमा मुद्दा अघि बढ्यो भने उनी उम्मेदवार बन्न नपाइने निश्चित छ ।
मुद्दा अघि बढ्यो भने ट्रम्पले अदालत सामु आत्मसमर्पण गर्नुपर्ने अवस्था हुनेछ । यदि गरेन भने उनलाई पक्राउ गर्न सक्ने पनि बताइएको छ ।