उच्च अदालत पोखराले दियाे वडा १८ मा अध्यक्षकाे पुनः मतगणना गर्ने आदेश
कास्की २१ चैत्र । पोखरा महानगरपालिका वडा नम्बर १८ को वडा अध्यक्ष पदका लागि पुनः मतगणनाका लागि उच्च अदालत पोखराले आदेश दिएको छ।
मंगलबार उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र ऋषिराम भण्डारीको संयुक्त इजालसले ३० वैशाखमा भएको स्थानीय तहको चुनावको वडाध्यक्ष पदको पुन: मतगणना गर्न आदेश दिएको हाे।
आगामी वैशाख २० गते पुनः मतगणनाका लागि आदेश दिएको उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले बताए। पहिलाको मतगणना बदर गरी पुनः मतगणनाको आदेश भएको उनले जानकारी दिए। उच्च अदालत पोखराको रोहबरमा मतगणना हुनेछ।
एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका पुस्कलबहादुर थापाले निष्पक्ष मतगणना नभएकाले बदर गरी फेरि मतगणना गरिपाउँ भन्दै गएको जेठ १८ गते निवेदन दिएका थिए। खसेकोभन्दा गणनामा ९ मत कम देखिएको उनको दाबी थियो।
नेपाली कांग्रेसका शिवप्रसाद तिम्लिसिना ३ मतान्तरले वडाध्यक्ष निर्वाचित भएको घोषणा निर्वाचन आयोगले गरेको थियो। तर थापाले आफू ९ मतान्तरले विजयी भएको भन्दै पुन: मतगणनाको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।
स्थानीय चुनावमा तिम्लिसिनाले १ हजार ६४२ मत प्राप्त गर्दा पराजित थापाले १ हजार ६४० मत पाएका थिए। वडामा ५ जना वडाध्यक्षका उम्मेदवार थिए।