सप्तरीमा ज्वाइँको कुटपिटबाट ससुराको मृत्यु

सप्तरी, २६ चैत । सप्तरीमा ज्वाइँको कुटपिटबाट ससुराको मृत्यु भएको छ । ५५ वर्षीय ससुरा छठु महतोकाे ज्वाइँको कुटपिटबाट मृत्यु भएको हो ।

बोदेबर्साइन नगरपालिका-६ खामगडाका ससुरा छठु महतोलाई बोदेबर्साइन नगरपालिका-७ का आफ्नै छोरी ज्वाइँ २३ वर्षीय रामचन्द्र महतोले घरायसी विवादमा कुटपिट गर्दा ससुरा छठु गम्भीर घाइते भएका थिए ।

सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहका अनुसार कुटपिट गत पुस ११ गते भएकाे थियाे ।

ज्वाइँको कुटपिटबाट नाक, मुख, टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएका उनलाई स्थानीय जीवन ज्योति अस्पतालमा समान्य उपचार पश्चात थप उपचारको लागि धरान लगिएको थियो ।

स्वास्थ्यमा सुधार हुँदा गत चैत १८ गते घर फर्केर औषधि खाइरहेका उनको शनिबार दिउँसो मृत्यु भएको डिएसपी सिंहले जानकारी दिए ।

कुटपिटमा संलग्न ज्वाइँमाथि छठुकी श्रीमती मायाबति नौनियाले ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *