रविलाई योगेश भट्टराईको सुझाव– ‘इमोसनल व्ल्याकमेल’ राजनीतिमा होइन उपन्यासमा मात्रै चल्छ’

काठमाडौं, ३ वैशाख । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ‘इमोसनल व्ल्याकमेल’ को राजनीति नगर्न सुझाव दिनुभएको छ । आज प्रेस चौतारी नेपाल चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो सझुाव दिनुभएको हो ।

‘इमोशनल व्ल्याकमेल’ गरेर मान्छेलाई भ्रममा पार्ने भनेको उपन्यासमा मात्रै हो । राजनीति भनेको उपन्यास लेख्ने कुरा होइन,’ लामिछानेप्रति संकेत गर्दै उहाँले भन्नुभयो, ‘हामीले उपन्यासका पात्र खोजेका होइनौँ ।’

भट्टराईले चितवन क्षेत्र नम्बर–२ मा उपनिर्वाचन अरु कसैका कारणले नभई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेकै कारण भएको भन्दै अब त्यो गल्ती नगर्न चितवनवासीलाई आग्रह पनि गर्नुभयो । ‘सभ्य समाजमा मान्छेले गल्ती गर्न सक्छ । त्यो गल्तिप्रति माफी पनि हुन्छ । तर, सभ्य समाजमा समाजलाई ढाँट्ने कुराचाँहि ठूलो अपराध हो,’ उहाँले भन्नुभयो, ‘रवि लामिछानेजीले गल्ती गरेको होइन । उहाँले समाजलाई ढाँटेको हो, राज्य, कानुन, संविधान र सिङ्गो समाज सबैलाई ढाँटेको हो । त्यसकारण उहाँ पाँच वर्ष त्यो ढाँटेकोप्रतिको प्रायश्चित गरेर बस्नुपर्ने मान्छे हो । फेरि प्रयास गर्दै हुनुहुन्छ ।’

उहाँ हामीले कस्तो राजनीतिककर्मी अगाडि बढाउने हो भन्ने कुरा मतदातामार्फत बहस होस भन्ने चाहेको पनि बताउनुभयो । ‘चितवन क्षेत्र नम्बर–२ का जनताले पक्कै पनि एउटा नयाँ निर्णय गर्नेछन् भन्ने मैले आशा लिएको छु,’ उहाँले भन्नुभयो, ‘एमालेले रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । उहाँ यहाँको पार्टी अध्यक्ष हुनुहुन्छ, युवा हुनुहुन्छ, सबैसँग घुलमिल हुने उहाँको क्षमता छ । उहाँप्रति जनताको आकर्षण पैदा भएको मैले देखेको छु । त्यसैले उहाँको जित निश्चित छ ।’

भट्टराईले चितवनको यो उपचुनावमा विगतबाट पनि शिक्षा लिदैँ नेकपा एमाले एकताबद्ध भएको भन्दै एमाले भित्र कुनै विवाद नरहेको प्रष्ट पार्नुभयो । ‘हिजोको चुनावमा कतिपय ठाउँमा अन्तरविरोध पनि थिए । अहिले त्यस्तो छैन । यी तिन वटै उपनिर्वाचन र अझ चितवनमा उम्मेदवार छनोटदेखि आजसम्मको दिनमा कुनै विमति छैन,’ उहाँले भन्नुभयो, ‘हामी शीरदेखि तीरसम्म एकतावद्ध छौँ ।’

उहाँले हिजो पार्टी भित्रको अन्तरविरोधका कारण विचललित भएका मतदाता फेरि पार्टीमा मूलधारमा फर्किएको दाबी गर्नुभयो । ‘अर्को कुरा यहाँ माओवादी र समाजवादीको उम्मेदवार छैन । मिडियामार्फत ती दलका साथीहरुलाई पनि भन्न चाहन्छु । अहिले मुलुक जुन ढंगले संकटग्रस्त अवस्थामा अघि बढिरहेको छ,’ उहाँले भन्नुभयो, ‘ठूला राजनीतिक दलहरुलाई बाइपास गरेर यो मुलुकको निकास हुन सक्दैन । आज एउटा गठबन्धन केन्द्रमा छ । त्यो अन्तराष्ट्रिय दबाब र बाध्यताले बन्यो होला । एमालेको गठबन्धन तोडियो होला । माओवादी र समाजवादीका मतदाताले रामप्रसादजीलाई मतदान गरेर फेरि पनि नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउने सन्देश दिनुहोला भन्ने आग्रह गर्न चाहन्छु ।’

उहाँले आजको दिनसम्मको अवस्थालाई हेर्दा चितवनमा रामप्रसाद न्यौपानेको विजयी निश्चित छ भन्ने आश्वस्त हुने अवस्थामा रहेको भन्दै अबको सात दिन पूर्ण विजयी हुने अवस्थामा पुराउने गरी लाग्ने बताउनुभयो ।

पुरानो दलले भ्रष्टचारी संरक्षण गर्छ भन्ने आरोप लामिछानेहरुले लगाउने गरेको भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले भन्नुभयो– ‘पुराना दलका धेरै नेताहरु भ्रष्ट्रचारको आरोपमा जेल परेका छन् । अख्तियारले तानेको छ, अदालतले दोषी ठहर गरेको छ । उहाँलाई त्यो पढाइदिनुपर्छ । हामी राज्यलाई नियन्त्रणमा लिदैँनौँ । राज्यको अंग स्वतन्त्र छन् भन्ने मान्यता एमालेले राख्छ । हामीमाथि छानविन होस् ।’

उहाँले लामिछानेलाई राजनीतिक प्रतिष्पर्धा गर्न आग्रह गर्दै इमोसनल व्ल्याकमेलिङ नगर्न सुझाव पनि दिनुभयो । उहाँले एमाले स्याल जस्तो होइन सिंह जस्तो प्रतिपक्षी भएको पनि बताउनुभयो । अहिले उछृङल र छाडा प्रवृत्ति हावी हुँदै गएको भन्दै त्यो गलत भएको बताउनुभयो । उहाँले लामिछानेका नाममा गरिएका उछृङ्खल र छाडा प्रवृत्तिको प्रतिवाद जनताले गर्नुपर्नेमा जोड दिनुभयो ।