भागबण्डाका लागि कर्णालीमा मन्त्रालयको संख्या बढ्यो, तीन मन्त्रीले लिए सपथ

काठमाडौं, ७ वैशाख । गठबन्धनको भागबण्डाका लागि मन्त्रालयको संख्या बढाएको कर्णाली प्रदेशमा तीन मन्त्रीले सपथ लिनुभएको छ । कर्णाली प्रदेशले मन्त्रालयको संख्या बढाएर आठ पुर्याएको थियो । केही दिन अघि मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई टुक्रयाएर ऊर्जा छुट्टै बनाएको थियो ।

सोही अनुसार नेपाली कांग्रेसका तीन नवनियुक्त मन्त्रीले कर्णालीमा शपथ लिएका छन् । सपथ लिने मन्त्रीहरू वेदराज सिंह, खड्गबहादुर पोखरेल र कृष्णकुमार बिसी हुनुहुन्छ । प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।

सिंहले आर्थिक मामिला तथा योजना, पोखरेलले सामाजिक विकास र बिसीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । भौतिक पूर्वाधार राज्यमन्त्री रहनु भएकी उर्मिला विश्वकर्माले ऊर्जामन्त्रीको रूपमा शपथ लिनु भएको छ । यसअघि एमाले–माओवादीको गठबन्धनमा ऊर्जालाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा गाभिएको थियो ।