उपनिर्वाचनको मौन अवधि लागू, के गर्न पाइन्छ ? के गर्न पाइदैन ?

काठमाडौं, ८ वैशाख । आउँदाे वैशाख १० गते हुने उपनिर्वाचनको लागि गएराति १२ बजेदेखि प्रचार प्रसार निषेध गरिएको छ । निर्वाचन आयोगले उपनिर्वाचन सकिएर मतदान केन्द्र बन्द नहुन्जेलसम्मका लागि प्रचार प्रसार निषेध गरिएको जनाएको छ ।

वैशाख १० गते आइतबार बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिनसम्म मौन अवधि मानिन्छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि लागू गरिएको निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार प्रसार गर्न पाइँदैन । निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको निर्वाचन आयोगले जनाएकाे छ ।

साथै निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न/नगराउन आयोगले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *